ओलीलाई सुझाव – ‘सूर्य थापाले सिध्याइदेलान, समयमै पदबाट हटाउनुस्’

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापालाई पदबाट हटाउन माग भएको छ। शनिबार बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को सचिवालय बैठकमा सूर्य थापालाई पदबाट हटाउन माग भएको हो।
नेकपा श्रोतका अनुसार थापालाई हटाउन नेकपाक उपाध्यक्ष वामदेव गौतमले माग गरेका हुन्। गौतमले ओलीलाई तत्काल सूर्य थापालाई पदबाट हटाउन माग गरेको बताइएको छ।
“प्रधानमन्त्रीज्यू, सूर्य थापालाई कारबाही गर्नुस्, उनले प्रशंसा गरेजस्तो गरेर सिध्याइदिन्छन्।”,शनिबार बसेको सचिवालय बैठकमा गौतमले ओलीलाई सुझाव दिँदै भने।
थापा विभिन्न समयमा विवादमा परिसकेकाका व्यक्ति हुन्। प्रधानमन्त्रीको ट्वीटर दुरुपयोग गरेका कारण उनी कयौं पटक विवादमा परिसकेका छन् भने उनले दिएका अभिव्यक्तिले पनि उनलाई धेरै पटक विवादमा पारिसकेको छ।
गौतमले प्रेस सल्लाहकारबाट थापालाई हटाउन सुझाव दिए पनि ओलीले त्यस्तो गर्ने भने देखिँदैन। ओलीका विपक्षिहरु माथि कठोर शव्दहरु खर्चने थापा ओलीका प्रिय पात्रको समूहमा पर्ने नेकपाका नेताहरु नै बताउँछन्।
शनिबार बसेको बैठकले नेकपाभित्र उत्पन्न सङ्कट समाधानका लागि दुवै अध्यक्षले प्रस्तुत गर्नुभएको प्रतिवेदन (पत्र) स्थायी कमिटीमा लगिने निर्णय गरेको छ।
यही मङ्सिर १३ गतेको बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको लिखित जवाफ र त्यसअघि गत कात्तिक २८ गतेको बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रस्तुत गरेको लिखित प्रस्तावपत्रका सम्बन्धमा कार्यसूची बनाएर छलफल गर्ने विषयमा शीर्ष तहमा विवाद कायमै छ ।
दुवै अध्यक्षका प्रस्तावलाई साझा बनाएर कमिटी र यही २५ गते हुने केन्द्रीय कमिटीको बैठकमा लाने वा अलगअलगरुपमा लाने भन्नेबारेमा नेताहरुबीच अनौपचारिक छलफल पनि भइरहेको छ । गत भदौ २६ गतेको स्थायी कमिटीको बैठकले सहमतिका साथ शीर्षनेताहरुको कार्यविभाजन गरी सरकार र पार्टीको कामलाई व्यवस्थित र प्रभावकारी बनाउने तथा आगामी चैतको अन्तिम साता पार्टीको एकता महाधिवेशन आयोजना तय गर्ने निर्णय गरेको थियो ।
पछिल्ला समय मन्त्रिपरिषद्मा हेरफेर, राजदूुत नियुक्ति, पार्टीको कर्णाली प्रदेशको विवाद, तराईका केही जिल्लाका कार्याकर्ताबीचको दोहोरो झडप, प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूत भई नेपाल आएका भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्त गोयलसँग गरेको भेटवार्ता आदिबारे विवाद उत्पन्न भई अध्यक्षद्वयबीच लिखित आरोप–प्रत्यारोपपत्र सार्वजनिक भएपछि विवाद बढेको छ ।
प्रकाशित : आइतबार, मङि्सर २१, २०७७०७:१८

डोटी जिप दुर्घटना अपडेट : मृत्यु हुनेको सङ्ख्या चार पुग्यो, चार घाइते