सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) मा बढ्दो तनावको बीचमा प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच आज पनि भेटवार्ता भएको छ। प्रधानमन्त्री ओली शितल निवास पुगेर समसामयिक मुद्दाहरूको बारेमा छलफल गरेको बताइएको छ।
प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीबीच करिब एक घण्टा छलफल भएको नेकपा स्रोतले बताएको छ। पार्टी कार्यालय धुम्बाराहीमा पार्टीको स्थायी कमिटी बैठकका लागि उनको आगमनको प्रतिक्षा भइरहेको बेला उनी भने राष्ट्रपति भण्डारीलाई भेट्न शियाल निवास पुगेका हुन्।
केन्द्रीय कार्यालय धुम्बाराहीमा जारी बैठकमा भने उनी कोरोनाको जोखिम देखाउँदै उपस्थित भएनन्। बैठकमा पार्टी अध्यक्षका राजनीतिक प्रस्तावहरू पेश हुनुका साथै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित ५ नेताले बैठकको माग गर्दै लेखेको पत्र, प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीद्वारा उक्त मागको जवाफमा लेखेको पत्र र प्रचण्डको पत्र पेश हुने कार्यक्रम छ।