काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न तयार रहेको बताएका छन्।
आइतबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको स्थायी कमिटीको बैठकमा बोल्दै प्रचण्डले आफू पार्टीको नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्न तयार रहेको बताएका हुन्।
परिवर्तन र पार्टी एकतालाई संस्थागत गर्ने विषयमा को अध्यक्ष बन्ने भन्ने कुरा ठूलो नहुने उनले बताए। नेकपाको नेतृत्वमा नयाँ पुस्तालाई ल्याउन अध्यक्षबाट राजिनामा दिन आफू तयार रहेको उनले स्पष्ट पारे।
नेकपाका एक स्थायी कमिटी सदस्यका अनुसार पार्टीका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्न जोड दिरहेको विषयलाई काउन्टर गर्दै प्रचण्डले आफू पनि अध्यक्ष पद छाड्न तयार रहेको बताएका हुन्। यस अगाडी नेकपा भित्रको विवाद बढेसँगै ओलीले पार्टीको नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्ने बताउँदै आएका थिए।
आइतबारको स्थायी कमिटीको बैठकमा प्रचण्डले पार्टीका अर्का अध्यक्ष ओली सार्वजनिक रूपमा उत्रिएपछि आफूहरुले पनि जवाफ दिएको बताएका छन्।
“उहाँले सुरूमा फायरिङ खोलेपछि हामीले पनि जवाफी फायरिङ गर्दा अहिलेको परिस्थिति आएको हो। हामीले बैठकका लागि पत्रमात्र लेखेका थियौं। अनौपचारिक छलफलबाट त्यसको समाधान निस्कन्थ्यो। तर उहाँ सार्वजनिक रूपमा उत्रिनुभयो।”,प्रचण्डले बैठकमा भने।
आइतबारको बैठकमा प्रधानमन्त्री ओली र प्रचण्डले छुट्टाछुट्टै रूपमा सचिवालयमा राखेका प्रस्तावहरूलाई छलफलको एजेन्डामा नराखिएको नेकपा श्रोतले जनाएको छ।