काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफू सत्यसँग नलड्ने र शक्तिसँग नझुक्ने बताएका छन्।
आइतबार बसेको नेकपाको स्थायी कमिटी बैठकमा उपस्थित नभएका ओलीले एक पत्र पठाउँदै सत्यसँग नलड्ने र शक्तिसँग नझुक्ने आफ्नो जीवनको आदर्श रहेको बताएका हुन्।
“सत्यसँग नलड्ने र शक्तिसँग नझुक्ने मेरो जीवनको आदर्श हो। सत्य व्यक्ति र संस्थाका सही विचार, व्यवहारमा अन्तरनिहीत हुन्छ भन्ने म ठान्छु।”,ओलीले पठाएको पत्रमा भनिएको छ।
पत्र मार्फत ओलीले पार्टीका अर्का अध्यक्षले पेश गरेको राजनीतिक प्रस्ताव फिर्ता नभई बैठकमा नआउने अडान कायमै रहेको पनि प्रष्ट पारेका छन्। प्रचण्डद्वारा पार्टीमा दर्ता गरिएको प्रस्तावलाई ओलीले अभियोग पत्रको संज्ञा दिएका छन्।
“प्रचण्डले पेश गरेको राजनीतिक प्रस्ताव फिर्ता नभई बैठकमा नआउने मेरो अडान कायमै छ। उक्त अभियोगपत्रसहित यसबीचका सबै पत्राचार र दस्तावेजहरुलाई सार्वजनिक गरिएको छ। आफूले खारेज गरिसकेको र पार्टीलाई विभाजनको डिलमा पुर्याएको त्यस्तो संगीन आरोपपत्रबारेमा हुने छलफलमा सहभागी हुन असमर्थ रहेको व्यहोरा कमरेडहरुलाई अनुरोध गर्दछु।”,ओलीले पत्र मार्फत स्थायी कमिटी सदस्यहरुलाई जानकारी गराएका छन्।
एकीकरणको मूल कामको निर्णायक नेतृत्व गरिरहँदा आफूले सहमतिलाई जोड दिएपनि अन्य पक्षबाट भने ‘खेल बदल्ने’ काम भएको ओलीको भनाई छ।
ओलीले भनेका छन्,”एकीकरणको मूल कामको निर्णायक नेतृत्व गरिरहँदा मैले सहमतिलाई जोड दिँए । तर मलाई थाहा थिएन–खेलको उत्तरार्द्धमा आएर केही कमरेडहरुले ‘खेलको नियम’ नै बदल्न लाग्नु हुनेछ र ‘जसरी पनि जित्ने’ महत्त्वाकांक्षा निम्ति जुनसुकै हदसम्म जान तयार हुनुहुनेछ।