एजेन्सी – स्पेनबाट प्रकाशित हुने एक पत्रिकाका अनुसार अर्जेन्टिनी स्टार फुटबलर लियोनेल मेस्सी बार्सिलोनामा खुशी छैनन्।
गएको एक वर्षमा विकसित भएको विभिन्न घटनाक्रमका कारण मेस्सी बार्सिलोनामा खुशी हुन नसकिरहेको स्पेनबाट प्रकाशित हुने ‘मार्का’ले दावी गरेको छ।
पछिल्लो समय मेस्सी मन लगाएर खेल्न नसकिरहेको उक्त समाचारमा उल्लेख गरिरहेको छ। क्लबसँग रहेका असन्तुष्टिका कारण पनि मेस्सीले भनेजस्तो खेल्न नसकिरहेको विश्लेषण ‘मार्का’को छ।
ला-लिगाको जारी सिजनमा मेस्सी खासै जम्न सकेका छैनन्। मेस्सीले १० खेल खेल्दा मात्रै ४ गोल गर्न सफल भएका छन्। जसमध्ये २ गोल पेनाल्टीबाट भएका हुन्। गएको सिजनहरुमा धेरै खेलमा मेस्सी निर्णायक हुने गरेका थिए। तर, यस सिजन भने मेस्सीले निर्णायक हुन सकिरहेका छैनन्।
क्लबको व्यवस्थापनसँग रहेको असन्तुष्टिका कारण मेस्सीले केहि समय अगाडी क्लब छाड्ने निर्णय गरेका थिए। तर, विभिन्न कारणले गर्दा मेस्सीको योजन सफल भएन।
विगत ५ वर्ष भन्दा धेरै समय देखि बार्सिलोनामा सँगै रहेका लुइस स्वारेजलाई बार्सिलोनाले गरेको व्यवहार पश्चात मेस्सी क्लबसँग झनै रुष्ट रहेको बताइन्छ।
मेस्सी बार्सिलोनामा सन्तुष्ट नरहेको विश्लेषण सँग-सँगै अहिले उनले आउने सिजनमा क्लब छाड्ने चर्चा पनि हुन थालेको छ। केहि दिन अगाडी मेस्सीका पूराना सहकर्मी नेयमारले सन् २०२१मा मेस्सी र आफू सँगै हुने अभिव्यक्त दिएका थिए।त्यसयता मेस्सीले बार्सिलोना छाडेर पीएसजी जाने चर्चाले पनि ठाउँ पाएको छ।