काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा मङ्गलबार सर्वदलीय बैठक बस्दै छ। ओलीको आह्वानमा आज सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलको सर्वदलीय बैठक बस्न लागेको हो।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजे डाकिएको बैठकमा ती दलका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहनेछ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बैठकमा राष्ट्रिय राजनीतिका समसामयिक विविध विषयमा छलफल हुने बताए ।
राप्रपालाई बोलाइएन
पछिल्लो समय देशभर राजसंस्थाको समर्थनमा आन्दोलन चर्किरहेको अवस्थामा ओलीले डाकेको सर्वदलीय बैठकलाई महत्वका साथ हेरिएको छ। बालुवाटार श्रोतका अनुसार बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई भने डाकिएको छैन।
सो बैठकमा राप्रपालाई नबोलाइएको प्रधानमन्त्री ओलीका परराष्ट्र मामिला सल्लाहकार डा.राजन भट्टराईले जानकारी दिए । नेपाली रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले राप्रपाले संविधान विपरितका गतिविधि गरेकाले नबोलाइएको बताए ।
संसदमा राप्रपाको तर्फबाट राजेन्द्र लिङ्देनले प्रतिनिधित्व गर्दै आएका छन् । उनी झापा जिल्लाबाट निर्वाचित भएका हुन्। ओलीका परराष्ट्र मामिला सल्लाहकार डा.राजन भट्टराईका अनुसार मङ्गलबारको बैठकमा लिङ्देनलाई बोलाइएको छैन।
राजसंस्था र हिन्दूराष्ट्रको माग गर्दै राप्रपाले केहि हप्ता देखि देशका विभिन्न स्थानमा प्रदर्शन गरिरहेको छ। राप्रपाले संविधान विपरित गएर अभियान चलाएको अन्य दलहरुले आरोप लगाइरहेका छन्।