एजेन्सी – युभेन्टसका प्रशिक्षक आन्द्रे पिर्लोले बार्सिलोनाका कप्तान लियोनेल मेस्सी मानसिक रुपमा पूर्ण सन्तुष्ट नरहेको बताएका छन्।
च्याम्पियन्स लिग अन्तर्गत बार्सिलोनासँग ,मङ्गलबार राति प्रतिष्पर्धा गर्नु अगाडी पिर्लोले बार्सिलोनाका कप्तान लियोनेल मेस्सी मानसिक रुप सन्तुष्ट नरहेको बताएका हुन्।
गत ट्रान्सफर विन्डोमा बार्सिलोना छाडेर अन्यत्र जान गरेको प्रयास असफल भएको थियो। त्यसयता मेस्सी बार्सिलोनामा खुशी नरहेको बताइन्छ। हुन त मेस्सीले त्यसयता पहिलाजस्तो प्रदर्शन पनि गर्न सकिरहेका छैनन्।
खेल मैदानमा हुँदा मेस्सीले आफ्नो शत-प्रतिशत दिरहेको भएपनि मानसिक रुपमा भने मेस्सी खुशी हुन नसकिरहेको जस्तै देखिएको पिर्लोको भनाई छ।
“समर ट्रान्सफरमा भएको समस्या पश्चात उनी खेल जीवनमा मात्र नभई आफ्नो जीवनकै विशेष घडीमा छन्”,पिर्लोले भने,”फुटबल भन्दा बढी उनीमा मानसिक समस्या पनि हुन सक्छ। तर म यसमा जान चाहन्न, यो हाम्रो विषय पनि होइन।”
यस्तै पिर्लोले मेस्सी खेलाडीको रुपमा अद्वितीय रहेको पनि बताएका छन्। मेस्सीले आफ्नो खेल क्षमताले हरेक खेलमा चकित पार्ने बारेको पिर्लोले बताए।
“मेस्सी खेलाडीको रुपमा अद्वितीय छन्। र, उनले हरेक खेलमा प्रमाणित पनि गर्दै आएका छन्।”,बार्सिलोनासँगको खेल अगाडी पिर्लोले भने।
पछिल्लो एक दशक विश्व फुटबलमा राज गरेका सफल सुपरस्टारद्वय लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डो च्याम्पियन्स लिगमा आमनेसामने हुँदै गरेको खेललाई महत्वका साथ हेरिएको छ।