काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको चर्को आलोचना गरेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा मङ्गलबार बसेको सर्वदलीय बैठकका क्रममा नेपाली कांग्रेसका नेताहरुले सरकार तथा प्रधानमन्त्री ओलीको चर्को आलोचना गरेका हुन्।
बैठकमा सहभागी कांग्रेसका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले शासन गर्ने नैतिक शक्ति गुमाइसकेको आरोप लगाए। सरकार भ्रष्टाचारमा चुर्लुम्मै डुबेको र कोरोना नियन्त्रण गर्न पनि असफल भएको नेपाली कांग्रेसका नेताहरुको आरोप छ।
बैठकमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री ओली आफ्ना आफन्त र मन्त्रीहरुका भ्रष्टाचारका आरोपहरुको ढाकछोप गर्न आफैँ अघि सरेको भन्दै आक्रोश पोखे।
देशमा भ्रष्टाचारको बिगबिगी भएको अवस्थामा सरकार र अख्तियार चुप बसेको र भ्रष्टाचारलाई संस्थागत गराउन तर्फ लागेको आरोप नेता पौडेलले लगाए।
“तपाईं आफ्ना आफन्त र मन्त्रीहरुका भ्रष्टाचारका आरोपहरु ढाकछोप आफैँ अगाडि सरेर गर्नुहुन्छ। देशमा भ्रष्टाचारको बिगबिगी छ। तर, ठूला भ्रष्टाचार काण्ड चलाउन नसक्ने अवस्थामा किन सरकार र अख्तियार पुगे?”,नेता पौडेलले ओलीलाई सिधै प्रश्न गरे।
त्यति मात्र नभई नेता पौडेलले कोरोना संक्रमणका कारण जनता समस्यामा परेपनि सरकारले त्यस माथि ध्यान नै नदिएको आरोप लगाए। पौडेलले कोरोना रोकथाम गर्न के के गर्नु भएको छ? भनेर प्रश्न पनि गरे। नेता पौडेलले ओलीलाई संसद अधिवेशन चाँडो अन्त्य गरेर अध्यादेशले शासन चलाउने सुविधाको बाटो किन रोज्नुभयो? भनेर प्रश्न पनि राखेका थिए।
यस्तै नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले संघीयता कमजोर पार्ने काम सरकारबाटै भएको आरोप लगाए। प्रदेश र स्थानीय तहलाई संविधानले दिएका अधिकार प्रयोग गर्न केन्द्र सरकारले नदिएको उनको आरोप छ।