काठमाडौँ – न्यूनचापीय प्रणालीको प्रभावका कारण अझै तीन दिन बदली नै हुनेभएको छ । दक्षिणपूर्वी अरब सागर र हिन्द महासागरमा विकसित न्यूनचापीय प्रणालीको आंशिक प्रभावले देशका अधिकांश भूभागको मौसम अझै तीन दिन प्रभावित हुने छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले शनिबारसम्म देशभर आंशिकदेखि सामान्य बदली नै रहने तर वर्षा भने नहुने बताए । हाल प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा लुम्बिनी प्रदेशका पूर्वी भूभाग तथा प्रदेश नं २ मा आंशिक बदली र बाँकी स्थानमा मौसम सामान्यतया सफा रहेको छ ।
प्रदेश नं १, २, वाग्मती र गण्डकी प्रदेशका भूभागमा अपराह्न आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा मौसम सफा हुने विभागले जनाएको छ ।
महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ९ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम २० दशमलव २ डिग्री सेल्सियस छ ।
त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस दुई दशमलव शून्य डिग्री र सबैभन्दा धेरै जनकपुरको न्यूनतम तापक्रम १५ दशमलव ६ डिग्री सेल्सियस छ ।
मौसम पूर्वानुमान महाशाखाले बुधबार बिहान जारी गरेको तीन दिनको मौसम पूर्वानुमान निम्न छ –
मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)
(जारी मितिः २०७७-०८-२४, विहान ०६:०० बजे)
मौसम विश्लेषण (Meteorological Analysis):
हाल दक्षिणपूर्वी अरवियन सागर र इन्डीयन सागरमा विकशित न्युन चापीय प्रणालीको आंशिक प्रभाव परेको छ ।
हालको मौसमको अवस्था (Present Weather Status):
हाल प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा लुम्बिनी प्रदेशका पुर्वी भू-भागहरु र प्रदेश न २ मा आंशिक बदली रहेको छ र बाँकि स्थानहरुमा मौसम सामान्यतय सफा रहेको छ |
आगामी तीन दिनको मौसम पूर्वानुमान
मंसिर २४ गते (बुधबार)
दिउँसो : प्रदेश नं १, प्रदेश न २, बागमती प्रदेश र गण्डकी प्रदेशका भू-भागहरूमा आंशिक देखि सामान्य बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।
राती : प्रदेश नं १ र बागमती प्रदेशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली तथा गण्डकी प्रदेशका पहाडी भू-भागहरू र सुदुर पश्चिम प्रदेशको हिमाली भू-भागहरूमा आँशिक बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ।सुदुर पश्चिम प्रदेशको हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
मंसिर २५ गते (बिहिबार)
दिउँसो : प्रदेश नं १ का पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली र प्रदेश न २ मा आंशिक बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ।
राती : प्रदेश नं १ का पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ।
मंसिर २६ गते (शुक्रबार)
दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रहने छ । पश्चिमी र मध्य उच्च हिमाली भूभागमा हल्का हिमपात र प्रदेश १ को पहाडी भूभागका एक-दुई स्थानमा हल्का/फाटफुट बर्षाको सम्भावना समेत रहेको छ ।
राती : देशभर आंशिक देखि सामान्य बदली रहि हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको छ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):
देशका धेरै स्थानहरुको वायुको तापक्रममा गिरावट आउनुको साथै तराई भु-भागमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।