काठमाडौं । अभिनेत्री झरना थापाले निर्देशन गरिरहेको चलचित्र ‘ए मेरो हजुर ४’ को छायांकन रोकिएको छ ।
१ कात्तिकबाट चलचित्रको बाँकी छायांकन सक्ने लक्ष्य राखेर सुरु भएको सुटिङ बुधबारबाट रोकिएको हो । निर्माण पक्षले चलचित्रका दुई गीत र केही दृश्यको छायांकनपछि गर्ने भन्दै छायांकन रोकेको हो । अब चलचित्रको सुटिङ माघ महिनापछि हुने निर्माण पक्षले जनाएको छ ।
चलचित्रमा अभिनेता अनमोल केसी, अभिनेत्री सुहाना थापा र अभिनेता सलोन बस्नेतका प्रमुख भूमिका रहेको छ । यसअघि कोरोना संक्रमणका कारण यो चलचित्रको छायांकन चैतदेखि रोकिएको थियो ।
सुनिलकुमार थापाको निर्माण रहेको फिल्मलाई झरना थापाले निर्देशन गरिरहेकी छिन् । फिल्मका विषयमा अन्य जानकारी लिन खोज्दा अभिनेत्री झरना थापासँग सम्पर्क हुन सकेन ।