“केपी ओलीको समूह चोर हो, हामी साधु हौँ”

काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली निकटका नेताहरुलाई चोरको संज्ञा दिएका छन्। एक टेलिभिजनलाई अन्तर्वार्ता दिने क्रममा नेता नेपालले ओली निकटका नेताहरुमा नैतिकता, धैर्यता नभएको भन्दै चोरको संज्ञा दिएका हुन्।

ओली पक्षधरहरु झुटको खेति गर्न खप्पिस रहेको भन्दै नेता नेपालले उक्त पक्षबाट सम्पूर्ण कुकर्महरु हुने गरेको आरोप लगाए। ओलीको पक्षमा रहेका व्यक्तिहरु संस्कारहिन रहेको उनको आरोप छ।

आफूहरु र ओलीपक्षका नेताहरु बीच तुलना नै हुन नसक्ने उनले दावी गरे। ओलीपक्ष र आफूहरुलाई एउटै ठाउँमा राखेर तुलना समेत गर्न नमिल्ने उनको भनाई छ।

ओली पक्षका नेताहरु सिद्धान्तको कुरै नगर्ने उनको भनाई छ। ओली पक्षका नेताहरुले गरेका ट्वीट सामाजिक अभिव्यक्तिले नेकपामा को कस्तो भनेर देखाइसकेको उनले तर्क गरे।

“चोर र साधुलाई एकै ‘क्याटागोरी’मा राख्न मिल्दैन। असल र कमसललाई एकै ठाउँमा नराखौं। न्याय र अन्यायलाई एकै ठाउँमा नमुछ्नुस्”,उनले भने,”माथिदेखि तलसम्म गैरकम्युनिस्ट आचरण पढाइएको छ। त्यो समूह चोरहरुको समूह हो। त्यहाँ सिद्धान्तको कुनै छलफल हुँदैन, नैतिकताको कुनै कुरा हुँदैन। माथिदेखि तलसम्म तिनीहरुले लेखेका कुराहरु हेर्नुस्, त्यहाँ कुनै नैतिकता, बौद्धिकता देखिँदैन। हामी साधुहरुको समूह हौं। न्याय र अन्यायको तुलना हुन्छ ? चोर र साधुहरुको तुलना हुँदैन। यो सिद्धान्त र सिद्धान्तहिनताको बहस हो। यसरी हेर्नुपर्छ। दुवैको तुलना हुँदैन।”

पार्टी कुनै व्यक्तिको स्वार्थपूर्ति गर्ने अखडा नभएको उनले जिकिर गरे। पार्टीको विधानभन्दा माथि पार्टीको कुनै नेता कार्यकर्ता नहुने भन्दै उनले पार्टी बिधान अनुसार चल्नुपर्ने बताए।

प्रकाशित : सोमबार, मङि्सर २९, २०७७०९:२०

नेपाल नमाने प्रचण्डलाई र प्रचण्ड नमाने नेपाललाई फकाउने ओलीको कसरत !