काठमाडौँ – प्रमुख प्रतिपक्षि नेपाली कांग्रेसका प्रभावशाली नेता गगन थापाले उपसभामुख चयन नहुँदासम्म पार्टी सभापति शेरबहादुर देउवाले संवैधानिक परिषद्को बैठकमा जान नहुने बताएका छन्।
मंगलबार बिहान कैलालीमा पत्रकारहरुसँग कुराकानी गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका थापाले उपसभामुख चयन नहुँदासम्म पार्टी सभापति शेरबहादुर देउवाले संवैधानिक परिषद्को बैठकमा जान नहुने बताएका हुन्।
सोमबार कांग्रेसले सरकारका विरुद्ध गरेको प्रदर्शनमा सहभागी हुन कैलाली पुगेका थापाले संविधानले व्यवस्था गरेअनुरूप प्रतिनिधिसभामा कांग्रेसले उपसभामुख पाउनुपर्ने बताए। उपसभामुखको विषयमा कुनै टुंगो नलागेसम्म देउवाले संवैधानिक परिषद्को बैठकमा जान नहुने उनको भनाई छ।
साथै थापाले नेपाली कांग्रेस सरकारमा सहभागी हुन नहुने पनि बताएका छन्। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) भित्र चलिरहेको अन्तरकलहका बीच कांग्रेस सरकारमा सामेल हुने भन्ने चर्चा चल्ने गरेको प्रति टिप्पणी गर्दै थापाले कांग्रेसले त्यस्तो गर्न नहुने बताए।
सरकारमा सामेल हुँदा कांग्रेसलाई फाइदा भन्दा पनि घाटा हुने उनको भनाई छ। उनले भने,”हिलेको अवस्थामा कांग्रेसले सरकारमा जान लालच राख्न हुँदैन”
यस्तै थापाले नेकपा भित्रको किचलोका कारण संसद बन्द भएपछि आफूहरु सडकमा आउन बाध्य भएको पनि बताए। सरकारले शक्तिको चरमदुरुपयोग गरेको उनको आरोप छ।
“शक्तिको चरम दुरुपयोग गरिरहेको अहिलेको सरकार ठेगान नलागेसम्म कांग्रेसले सडक र संसद् दुवैबाट एकसाथ विरोध जारी राख्छ।”,उनले भने। जनता कोरोना महामारीले प्रभावित हुँदा पनि सरकारले कुनै वास्ता नगरेको उनले आरोप लगाए। अहिलेको सरकारलाई जनताका सवालको कुनै वास्तै नभएको उनको आरोप छ।