नेकपा विवादमा नाटकीय परिवर्तन !

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा देखिएको चर्को विवाद नाटकीय ढंगबाट अगाडि बढेको छ । बुधबार स्थायी कमिटी बैठक बस्नुअघि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच तीन बुँदे समझदारी बनेपछि अस्थायी यु’द्धवि’राम भएको हो । बुधबार दिनभरको दौडधुपपछि बसेको स्थायी कमिटीले बैठकले दुई बुँदे सर्वसम्मत निर्णय गरेपछि तत्कालका लागि सहमति बनेको छ । एकले अर्का पक्षलाई गलाउने गरी गतिविधि भए पनि दिनमै दुई अध्यक्षबीच भएको दोस्रो छलफलमा सहमतिको निकास निस्केको थियो । स्थायी कमिटी बैठक अघि दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले संसद्को विशेष अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष समावेदन दर्ता गर्न पुगेको थियो । त्यसपछि दुई अध्यक्षबीच छलफल भएको र त्यो छलफलमा तत्कालको निकासका लागि एउटा सहमति बनेको नेताहरूले बताएका छन् । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।

सरकारले हालै ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता गर्ने तथा संसद्को विशेष अधिवेशन बोलाउन संकलन गरिएको हस्ताक्षर स्थगित गर्ने र संवैधानिक अंगमा सहमतिका आधारमा नियुक्ति गर्ने सहमति बनेको छ । बुधबार दोस्रो पटकको भेटमा भने अध्यक्षद्वयबीच सहमति गराउन दोस्रो तहका नेताहरू सहभागी बनेका थिए । छलफलमा संसदीय दलका उपनेता सुवास नेम्बाङ, पार्टी महासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्य घनश्याम भुषाल, शंकर पोखरेलसहित दुई अध्यक्षबीच छलफल चलेको थियो । दुवै अध्यक्षलाई आआफ्ना आरोप–प्रत्यारोप र अध्यादेश तथा संसद्को विशेष अधिवेशन बोलाउने हस्ताक्षर फिर्ता लिई बैठकमा बस्नका लागि घनश्याम भुसाल र सुवास नेम्वाङको विशेष भूमिका थियो ।

दोस्रो तहका नेताबीच पहिलो चरणमा छलफल भएपछि अध्यक्षद्वयबीच दोस्रोपटक छलफल भएको थियो । छलफलमा प्रधानमन्त्री ओलीले दाहाललाई मोर्चाबन्दी गरेपछि आफूले बाध्य भएर अध्यादेश ल्याउनुपर्ने परिस्थिति सिर्जना गरेको बताएका थिए । ‘तपाईंले सरकारलाई सहयोग गर्नुभएन मात्रै होइन, आफ्ना मान्छेलाई भनेकै जसरी सेटल गर्न नसकिएपछि माधव नेपालहरूसँग मोर्चाबन्दी गर्नुभएको होइन ? त्यसपछि घेराबन्दी गर्न थाल्नुभएको होइन ? तपाईंकै तिकडमवाजीले आज यो अध्यादेश ल्याउनुपर्नेसम्मको परिस्थिति सिर्जना भयो’, ओलीको भनाइ उद्धत गर्दै एक नेताले भने ।

दाहालले भने अध्यादेशका विषयमा मात्र जवाफ फर्काएका थिए । ‘तपाईंले जति जे भने पनि अध्यादेश गलत मात्रै होइन, प्रतिगमनकारी पनि छ । अध्यादेश फिर्ताबाहेक अर्को कुनै विधि, वचन र बोली तपाईंबाट सुन्न चाहन्नँ’, दाहालले ओलीलाई छलफलमा भनेका थिए । पार्टीभित्रैबाट आफूलाई अप्ठेरोमा पार्न सभामुखलाई संवैधानिक परिषद् बैठकमा जानबाट रोकिएपछि प्रधानमन्त्रीले एक कदम अघि बढेर अध्यादेश ल्याएका थिए । बुधबार नै बालुवाटारमा भएको पहिलो भेटमा भने ओलीले दाहाललाई आरोपपत्र छलफल हुने बैठकमा आफू सहभागी नहुने स्पष्ट अडान राखेका थिए । स्थायी कमिटीले पार्टीभित्रको समस्या भनेर एक मात्र एजेन्डा बनाए पनि दाहाल–नेपाल पक्षले आरोपपत्रमा छलफल चलाउन लागेको सूचना आएपछि ओली सहभागी नहुने अडानमा थिए । सोहीअनुसार उनी बैठकमा नआएपछि स्थायी कमिटीलाई अलमलमा राखेर नेताहरू फेरी सहमति बनाउन छलफलमा जुटेका थिए ।

दुई अध्यक्षको सहमतिपछि बसेको स्थायी कमिटीले त्यसलाई सर्वसम्मत रूपमा निर्णय गरेको थियो । ‘सरकारले हालै ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता गर्ने तथा संसद्को विशेष अधिवेशन बोलाउन माग गर्दै संकलन गरिएको हस्ताक्षर पनि रोक्ने निर्णय गरेको छ’, बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भने । उनका अनुसार अध्यादेश आएपछि बसेको संवैधानिक परिषद्को बैठकमा कसैलाई पनि सिफारिस नगरिएको प्रधानमन्त्रीले बैठकलाई जानकारी गराएको बताए ।

बुधबार दिनभर के भयो ?
बिहानभर दुवै पक्षका नेताको दौडधुप ;१२ बजे : ओली–दाहाल भेटवार्ता ; साढे १२ बजे : विशेष अधिवेशन माग गर्दै सांसद राष्ट्रपति कार्यालयमा ; साढे १ बजे : स्थायी कमिटीमा ओली अनुपस्थित ; २ बजेपछि : ओली–दाहाल पक्षबीच तीन बुँदे सहमति ; स्थायी कमिटीद्वारा सहमति सर्वसम्मत अनुमोदन

दुई निर्णय गरेपछि बैठक ५ पुससम्मका लागि स्थगित गरिएको छ । सो दिनका लागि तय भएको केन्द्रीय कमिटी बैठक भने १० पुसका लागि सारिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । तर, बालुवाटारमा दुई अध्यक्षबीच भएको सहमतिलाई दुवै पक्षले आ–आफ्नो तरिकाले ब्याख्या गरेका छन् । ओली पक्षले स्थायी कमिटीमा प्रस्तुत प्रतिवेदन फिर्ता गरेर संयुक्त प्रस्ताव लैजाने सहमति पनि बनेको दावी गरेको छ । दाहाल पक्षले भने कुनै पनि सहमति बनि नसकेको र सबै विषय बैठकबाटै छलफल हुने दावी गरेको छ ।

स्थायी कमिटीले निर्णय गरेपछि राष्ट्रपति कार्यालयमा समावेदन दिन पुगेका स्थायी कमिटी सदस्यद्वय भिम रावल र पम्फा भुषाल भने साँझ ६ बजेपछि फर्किएका थिए । उनीहरूका अनुसार ८३ जना सांसदको हस्ताक्षर लिएर शीतल निवास पुगेको र सचिवले दिउँसो पत्र दर्ता गर्न नमानेको दावी गरेका छन् ।

प्रकाशित : बिहिबार, पुष ०२, २०७७०८:०८

कोरोनाविरुद्धको भ्याक्सिन ल्याउन तयारी तीव्र