“पार्टीले भन्दैमा तत्काल अध्यादेश फिर्ता हुँदैन”

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य एवम् उपप्रधानमन्त्री ईश्वर पोखरेलले पार्टीले भन्ने बितिकै संवैधानिक परिषद सम्बन्धी अध्यादेश फिर्ता नहुने बताएका छन्।

एक निजि टेलिभिजनलाई अन्तर्वार्ता दिनेक्रममा पोखरेलले पार्टीले भनेकै भरमा तत्काल संवैधानिक परिषद सम्बन्धी अध्यादेश फिर्ता नहुने बताएका हुन्।

पार्टीले अध्यादेश गर्ने निर्णय गरिसके पनि अध्यादेश प्रक्रियागत हिसाबमा फिर्ता हुने उनले बताए। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठकले फिर्ता लिने भन्नेवित्तिकै फिर्ता हुने भन्दा पनि प्रक्रिया अनुसार अध्यादेश फिर्ता हुने उनको भनाई छ।

“अध्यादेश फिर्ता लिने निर्णय भएको हो । अध्यादेश फिर्ता गर्न फेरि न्यू प्रोसेस हुन्छ । यहाँ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठकले फिर्ता लिने भन्नेवित्तिकै फिर्ता लिने कुरा हुँदैन”,अन्तर्वार्तामा उनले भनेका छन्,”अध्यादेश ल्याउने कुरा संविधानकै प्रवन्धअन्तर्गत हो । फिर्ता लिनुपर्ने कुरा पनि त्यसको उपादेयताको सन्दर्भमा जब त्यो बाँकी रहँदैन भने आवश्यक परेन भने फिर्ता पनि लिइन्छ । अध्यादेश जारी गर्ने पनि संविधानको किटानी व्यवस्थाअनुरुप हुन्छ, फिर्ता लिने कुरा पनि त्यही हो”

अध्यादेश ल्याउने कुरा संविधानकै प्रवन्धअन्तर्गत पर्न जाने उल्लेख गर्दै उनले अध्यादेश फिर्ता पनि संविधानले तय गरेको प्रक्रिया अनुसार नै फिर्ता हुने बताए।

यस्तै पोखरेलले अध्यादेश ल्याएर सरकारले गल्ती नगरेको पनि दावी गरेका छन्। संविधानको जगमा टेकेर अध्यादेश ल्याउने कुरालाई गल्ती भन्न नमिल्ने उनको भनाई छ।

“संविधानको किटानी व्यवस्थाअनुसार अध्यादेश हुन्छ, त्यही संविधानको जगमा टेकेर अध्यादेश ल्याउने कुरालाई गल्ती थियो, गल्ती गर्यो भन्न सकिन्छ ?”,पोखरेलले अन्तर्वार्ता दिने क्रममा भनेका छन्।

प्रकाशित : बिहिबार, पुष ०२, २०७७१०:२६

“नेकपाभित्र भइरहेको गाईजात्राले राजतन्त्र पक्षधरलाई समेत लाज लाग्न थाल्यो”