काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष कमल थापाले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी)नेकपा)बाट गणतन्त्रको धज्जी उडाउने कार्य भएको आरोप लगाएका छन्।
नेकपा भित्र चलिरहेको विवादको साइडइफेक्टको रुपमा संवैधानिक परिषद सम्बन्धि अध्यादेश आएपछि र त्यसले राजनीतिक तरंग पैदा गरेपछि ट्वीटर मार्फत टिप्पणी गर्दै अध्यक्ष थापाले त्यस्तो आरोप लगाएका हुन्।
पहिला अध्यादेश ल्याउने र पछि फिर्ता गर्ने सरकारको निर्णय र नेकपा भित्रको विवादलाई थापाले गाईजात्रा भनेका छन्। नेकपाभित्र भइरहेको गाईजात्राले राजतन्त्र पक्षधरलाई समेत लाज लाग्ने अवस्था आएको थापाको टिप्पणी छ ।
“अब अतिभो, गाईजात्रा बन्द गर्नुहोस् । हामी जस्ता राजसंस्था सहितको लोकतन्त्र पक्षधरलाई समेत लाज लाग्ने गरी गणतन्त्रको धज्जी नउडाउनुहोेस् ।”,नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मेन्सन समेत गर्दै थापाले ट्वीटर मार्फत भनेका छन्।
यस्तै थापाले पछिल्ला घटनाक्रमहरुले ओली र प्रचण्ड दुवैको व्यक्तित्वमा खिया परेको पनि बताएका छन् भने उनले कमसेकम लोकलज्जाको भएपनि ख्याल राख्न दुवैलाई सुझाव दिएका छन्।
थापा ट्वीटरमा लेख्छन्,”हिजो हिमालय पर्वत जस्तो भिमकाय तपाईंहरूको व्यक्तित्व खिया परेर अहिले धुलिसात भैसक्यो । कमसेकम लोकलज्जाको त ख्याल राख्नोस्”