सन्तोषको सफलताले कर्जन्हा गदगद

काठमाडौँ – रियालिटी सो ‘बिबिसी मास्टर सेफ प्रोफेसनल्स’ को उपाधि जित्न नसके पनि नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सफल भएका छन् सिरहाका सन्तोष साह। उनी मधेस, पहाड र हिमालको खान्की पस्केर ‘बिबिसी मास्टर सेफ प्रोफेसनल्स’ प्रतियोगिताको उपविजेता बन्न सफल भएका छन्। पाककलाको प्रतिस्पर्धा हुने यो रियालिटी सोमा व्यावसायिक सेफहरूले भाग लिन्छन्। नोभेम्बरको दोस्रो साता सुरु भएको प्रतियोगिता सात सातासम्म चलेर बिहीबार अन्तिम चरण सम्पन्न भएको छ। यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ।

सन्तोषले प्रतियोगितामा लगातार नेपाली परिकार पस्केर निर्णायकको मन जितेका छन्। उत्कृष्ट तीनका लागि भएको प्रतिस्पर्धामा आफ्नो सबैभन्दा प्रिय व्यक्तिलाई समर्पित गर्दै परिकार बनाउन भन्दा सन्तोषले आमालाई सम्झेर परिकार बनाएका थिए। सन्तोषले पोलेको खसीको मासु, भुटेको चिउरा, नुन खुर्सानी, पुरी, गँगटाको झोल, साँधेको भटमास, रायोको सागलगायतका परिकार बनाएका थिए।

डिजर्टको रूपमा उनले निर्णायक मण्डलका सदस्यलाई कोदोको खिरसमेत चखाउन भ्याए। उनले आँपको कुल्फी र मधेसको पहिचान आँपको अमौरा पनि पस्केका थिए। उनी निर्णायकलाई नेवारी परिकार योमरी चखाउँदै फाइनल राउन्डमा उक्लिएका थिए। उनले हिमाली खान्की काँक्रोको भुटेको बियाँ, बन तरुल, कटहरको भुटेको बियाँ, प्याजको अचार, स्याउको चट्नीलगायतका परिकारसमेत पस्कन भ्याए। त्यसअघिका प्रतिस्पर्धामा उनले भेडाको पोलेको मासु, सिस्नु र आलुको तरकारी, बेथेको साग, मकैको रोटी, तामाको अचारजस्ता नेपालका मौलिक खान्कीको स्वाद चखाएका थिए।

बिहीबारको अन्तिम प्रतिस्पर्धामा समेत उनले नेपाली खान्कीकै सहारा लिएका थिए। दुई दशक भारतीय खान्कीमा अनुभव बटुलेर पोख्त सन्तोषले प्रतिस्पर्धाको अन्तिमसम्म पनि नेपालीपन छाडेनन्। शिरमा भादगाउँले टोली ढल्काएर उनी निरन्तर नेपाली खान्की सोमा पस्किरहे।

प्रकाशित : शनिबार, पुष ०४, २०७७०७:३७

प्रधानमन्त्रीले संसद् विघटन गर्न सक्लान् ? यसो भन्छन् जानकार !