काठमाडौँ – धनगढीका वरिष्ठ फिजिसियन डाक्टर शुभेषराज कायस्थ चिकित्सकीय पेशामा आवद्व भएको लगभग ३२ वर्ष भइसक्यो। २०४६ सालदेखि चिकित्सकीय पेशामा आवद्व उनले अहिले सम्म असंख्य विरामीहरुको सेवा गरिसके।
कोरोना महामारी शुरु भएपश्चात कोरोना संक्रमितको उपचारमा व्यस्त छन्। कोरोना संक्रमितको उपचारमा खटिएकै बेला शुक्रबार उनलाई नसोचेको सम्मान मिल्यो।
सम्मान कुनै अवार्ड, पुरस्कार थिएन। तर, त्यो भन्दा कम पनि थिएन। खासमा उनलाई एक बिरामीले फूलको माला, घरमै बनाइएको मिठाइ र फलफूलसहित मायाको टोकन दिएकी थिइन्।
नाम नखुलाइएकी ती महिलाले डाक्टर कायस्थलाई नेपाली ५, १० र २० रुपैयाँको नोटले उनिएको माला सहित सम्मान गरेकी थिइन्। डाक्टर कायस्थ आफ्नो उपचार पाएर निको भएपछि बिरामीबाट पाएको माया थियो त्यो।
बिरामीबाट पाएको सम्मानका केहि दृश्यहरु डाक्टर कायस्थले सामाजिक संजालमा पनि राखेका छन्। तस्विर राख्दै उनले शुक्रबार बिहानै ओपीडीमा बिरामीबाट फूलको माला, घरमै बनाइएको मिठाइ र फलफूलसहित मायाको टोकन प्राप्त भएको उल्लेख गरेका छन्।
“आज बिहानै ओपीडीमा बिरामीबाट मलाई फूलको माला, घरमै बनाइएको मिठाइ र फलफूलसहित मायाको टोकन प्राप्त भयो।”,तस्विर पोस्ट गर्दै उनले फेसबुकमा लेखेका छन्।
बिरामीहरुबाट टीका र फूलमालासहितको सम्मान पाइरहने गरेको उनको भनाई छ। बिरामीहरुबाट पाउने यस्तो सम्मानले आफ्नो हौसला बढाउने गरको उनको अनुभव छ।
डाक्टर कायस्थले केही वर्षदेखि भिटामिन ‘बी’ को कमीबाट हुने रोग र बिरामीको प्रकृतिबारे सुदूरपश्चिममा रहेर अनुसन्धान गरिरहेका छन्। हातखुट्टा पोल्ने, झमझमाउने, रगतको कमी हुने, मानसिक समस्या जस्ता लक्षण लिएर बिरामीहरु आउने गरेको उनको भनाई छ।
शुक्रबार सम्मान गर्ने बिरामी समेत सोही खालको समस्या लिएर आफूकहाँ झण्डै १० महिना अगाडी उपचारका लागि आएको र १० महिनाको उपचार पछि निको भएको उनले बताए।
अहिले उनी धनगढीमै रहेर बिरामीको उपचार गर्दै आएका छन। सेती प्रादेशिक अस्पतालमा समेत काम गरिसकेका डाक्टर कायस्थ २०७२ सालको साउनमा सरकारी सेवाबाट निवृत्त भएका थिए।