ओलीले संविधानको धज्जी उडाएको बाबुरामको आरोप, सबैतिरबाट प्रतिबाद गर्न आह्वान !

काठमाडौँ – जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले उठाएको कदमको कडा प्रतिवाद गर्न आह्वान गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको लागि राष्ट्रपति समक्ष सिफारिस गरेपछि एक सन्देश जारी गर्दै भट्टराईले ओलीले उठाएको कदमको कडा प्रतिवाद गर्न आह्वान गरेका हुन्।

पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले ओलीको कदमलाई लोकतन्त्रको मर्म विपरित भनेका छन्। दुई तिहाईको बहुमत नजिकको सरकार बन्दा पनि ओलीबाट गैरजिम्मेवारपूर्ण हर्कत भएको भट्टराईको आरोप छ।

“यसले संविधानसभाबाट हामीले ल्याएको सुधारिएको प्रणालीको धज्जी उडाएको छ । यो लोकतन्त्रको मर्म विपरित छ, संविधानको प्रावधान विपरित छ । नेकपाको दुई तिहाईको बहुमतको सरकार नजिक बन्दा पनि जुन ढंगको गैरजिम्मेवारपूर्ण हर्कत प्रधानमन्त्रीबाट भएको छ, यो लोकतन्त्रको हितमा छैन ।”,भट्टराईले सन्देश जारी गर्दै भनेका छन्।

भट्टराईको सन्देश यस्तो छ –

नयाँ संविधानमा हामीले राजनीतिक स्थिरता कायम गर्नको निम्ति प्रतिनिधिसभाको कार्यकाल पाँच वर्ष किटान गरेका थियौँ । विगतका अस्थिरतालाई ध्यान दिँदै बीचमा संसद् विघटन गरेर अस्थिरता निम्त्याउन नदिने प्रावधान राखेका थियौँ । तर, प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसको विपरित संसद् विघटनको प्रस्ताव राष्ट्रपतिसमक्ष प्रस्तुत गरेको खबर जुन प्राप्त भएको छ, यो अत्यन्त दुःखद् छ । यसले हिजो कै संसदीय व्यवस्थाको अस्थिरता निम्तायो र यसले संविधानसभाबाट हामीले सुधारिएको प्रणाली ल्याएको धज्जी उडाएको छ, यो लोकतन्त्रको मर्म विपरित छ । संविधानको प्रावधान विपरित छ । यसले नेकपाको दुई तिहाईको बहुमतको सरकार नजिक बन्दा पनि जुन ढंगको गैरजिम्मेवारपूर्ण हर्कत प्रधानमन्त्रीबाट भएको छ, यो लोकतन्त्रको हितमा छैन । यसको सबैतिरबाट प्रतिबाद गरिनुपर्छ ।

प्रकाशित : आइतबार, पुष ०५, २०७७११:२१

“तीन वर्ष अगाडी जनताले नेकपालाई दिएको जनमतको वैधता सकियो”