काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध पोखरामा नाराबाजी भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको घोषणा गरेसँगै पोखरामा विद्यार्थीहरुले नाराबाजी गरेका हुन्।
पोखराको पृथ्वीनारायण क्याम्पसको गेटबाहिर नेपाल कम्युनिस्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, र नेता माधवकुमार नेपाल पक्षधर अनेरास्ववियुका विद्यार्थी, जनता समाजवादी पार्टीका विद्यार्थी संगठनले नाराबाजी गरेको जानकारी प्राप्त भएको छ।
संसद विघटनविरुद्ध प्रचण्ड–नेपाल पक्षका विद्यार्थीले देशैभर प्रदर्शन गर्ने
पार्टी भित्र चलिरहेको विवादका कारण संसद विघटनका लागि राष्ट्रपति समक्ष सिफारिस गरेसँगै ओलीको सर्वत्र आलोचना भएको छ। ओलीले संविधान विरुद्ध कदम चालेको भन्दै नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, राप्रपा लगायतका दलहरुले ओलीको आलोचना गरेका छन्।
ओलीके उठाएको कदमको पार्टी भित्रै पनि विरोध भएको छ। सरकारले संसद विघटनको प्रस्ताव गरेपछि अध्यक्ष पुष्ककमल दाहाल‘ ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको विद्यार्थी संगठनका नेताहरुले देशैभर प्रदर्शन गर्ने भएका छन्।
पाँच वर्षे कार्यकालका लागि जनताबाट निर्वाचित भएको सरकारलाई संसद विघटन गर्ने अधिकार नभएको भन्दै प्रचण्ड-नेपाल पक्षका विद्यार्थीहरुले प्रदर्शनको घोषणा गरेका हुन्।
अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङका अनुसार काठमाडौ उपत्यकामा माइतीघरमा दिउँसो ३ बजे प्रदर्शन हुँदैछ। उपत्यका बाहिर पनि प्रदर्शन हुने उनले बताए।