काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा संसद विघटन गरेकी छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न गरेको सिफारिसलाई अनुमोदन गर्दै भण्डारीले संसद विघटन गरेकी हुन्।
साथै मन्त्रिपरिषद्ले गरेको सिफारिस अनुसार संसद विघटन गर्दै राष्ट्रपति भण्डारीले २०७८ वैशाख १७ र २७ गतेका लागि मध्यावधि निर्वाचनको मिति पनि तोकेकी छन्।
संसद विघटन गरेको बारे जानकारी गराउँदै राष्ट्रपतिको कार्यालयले एक विज्ञप्ति जारी गर्दै जानकारी गराएको छ। विज्ञप्ति जारी गर्दै राष्ट्रपतिको कार्यालयले नेपालको संविधानको धारा ७६ को उपधारा (१) र (७) तथा धारा ८५ एवं संसदीय प्रणालीको आधारभूत मर्म एवम् मूल्य मान्यता तथा संसदीय प्रणाली भएका विभिन्न मुलुकहरूको अभ्यास बमोजिम संघीय संसदको वर्तमान प्रतिनिधि सभा विघटन गरी ताजा जनादेशका लागि नेपाली जनता समक्ष जाने निर्णय गरिएको स्पष्ट पारेको छ।
‘संसदको वर्तमान प्रतिनिधि सभा विघटन गरी ताजा जनादेशका लागि नेपाली जनता समक्ष जान मिति २०७८ साल बैशाख १७ गते शुक्रबार पहिलो चरणमा र मिति २०७८ साल बैशाख २७ गते सोमबार दोस्रो चरणमा अर्को प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचनको मिति तोक्न नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकबाट निर्णय भई सोही बमोजिम सम्माननीय प्रधानमन्त्रीबाट सिफारिस भएकोले उक्त सिफारिस बमोजिम संघीय संसदको वर्तमान प्रतिनिधि सभा विघटन गरी मिति २०७८ साल बैशाख १७ गते शुक्रबार पहिलो चरणमा र मिति २०७८ साल बैशाख २७ गते सोमबार दोस्रो चरणमा प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचनको मिति तोक्नु भएको छ’, राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।