काठमाडौँ – ओली क्याबिनेटका ७ मन्त्रीहरुले राजिनामा दिएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरी वैशाख १७ र २७ गते मध्यावधी चुनाव गर्ने घोषणा गरेपछि प्रचण्ड-माधव नेपाल पक्षका मन्त्रीहरुले राजिनामा दिएका हुन्।
राजिनामा दिनेहरुमा शिक्षामन्त्री गिरिराजमणि पोखरेल, ऊर्जामन्त्री वर्षमान पुन अनन्त, कृषिमन्त्री घनश्याम भुसाल, पर्यटनमन्त्री योगेश भट्टराई, वन मन्त्री शक्ति बस्नेत, श्रममन्त्री रामेश्वर राय यादव र खानेपानी मन्त्री वीना मगर छन् ।
गृहमन्त्री रामबहादुर थापा र उद्योगमन्त्री लेखराज भट्टबाहेकका प्रचण्ड-माधव समूहका ७ मन्त्रीले सामूहिक राजीनामा दिँदै प्रधानमन्त्रीको कदम प्रति असहमति जनाएका छन्। संसद विघटन गर्ने प्रधानमन्त्रीको कदमलाई रोक्ने प्रयास गरिएपनि आफूहरु असफल भएको मन्त्रीहरुको भनाई छ।
“गैरसंवैधानिक, अलोकतान्त्रिक, जनादेशविपरीत तथा राजनीतिक मूल्य स्थिरताको प्रतिकूल हुने गरी चालिएको कदमप्रति गम्भीर असहमति जनाउँदै हामीले मन्त्री पदबाट राजीनामा गरेका छौं।”,सामूहिक राजिनामा पत्रमा भनिएको छ,”मुलुकको राजनीति र पार्टीमाथि आइपरेको यो अकल्पनीय संकटको अवस्थामा नेपाती जनताको त्याग र बलिदानबाट आर्जिएका राजनीतिक उपलब्धी र पार्टी एकतालाई बचाउन हामी सघैँ झै प्रतिबद्ध र सक्रिय रहने छौं ।”
आइतबार बिहान बसेको मन्त्रिपरिषद्ले संसद विघटन गर्न सिफारिस गरेको थियो। ओलीले उठाएको उक्त कदमको सर्वत्र आलोचना भएको थियो भने राष्ट्रपतिले उक्त कदम रोक्ने अनुमान गरिएको थियो। तर, ओलीको कदमलाई राष्ट्रपतिले समेत साथ दिएपछि यति बेला सत्तारुढ नेकपाका धेरै नेता र प्रतिपक्षि दलका नेताहरु आक्रोशित बनिरहेको अवस्था छ।