पार्टी फुटाउने कसरत शुरु !

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि नेकपाभित्रका शीर्ष नेताहरूले पार्टी विभाजनका लागि कसरत सुरु गरेका छन्। यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ।

प्रधानमन्त्री ओलीसहित सचिवालय सदस्यहरू उपप्रधानमन्त्री ईश्वर पोखरेल, रामबहादुर थापा, महासचिव विष्णु पौडेल तथा स्थायी कमिटी सदस्य सुवास नेम्वाङ पार्टी विभाजनका लागि आवश्यक परामर्शमा जुटेका छन्। बहुमत केन्द्रीय सदस्यहरू कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहसँग भएपछि उनीहरूले आफ्नो पक्षको वैधानिकताका लागि परामर्श थालेका हुन्।

दाहाल–नेपाल समूहसँग वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम तथा प्रवक्ता नारायणकाजी श्रेष्ठसहित बहुमत सचिवालय सदस्य, बहुमत स्थायी कमिटी सदस्य तथा बहुमत केन्द्रीय सदस्य छन्। त्यसकारण पनि ओली पक्षलाई उनीहरूले अनुशासनको कारबाही गरेर हटाउन सक्ने र त्यसअगावै आफ्नो पक्षका केन्द्रीय सदस्य र सांसदहरूसँग परामर्श गरी पार्टीको आधिकारिकता सुरक्षित गर्न लागिपरेको बालुवाटारनिकट स्रोतले जनाएको छ। दुवै पक्ष केन्द्रीय सदस्य संख्या आफ्नो पक्षमा बढी पार्ने कसरत गरिरहेका छन्। अहिले हेर्दा बहुमत केन्द्रीय सदस्यहरू दाहाल–नेपाल पक्षमा भए पनि उनीहरूको चाहना पार्टी विभाजन नहोस् भन्ने छ। यद्यपि प्रधानमन्त्री ओलीले संसद् विघटन गरेपछि भने उनीहरूले आ–आफ्ना नेताहरूलाई सहयोग गर्नुको विकल्प नभएको बताउन थालेका छन्।

प्रधानमन्त्री ओलीले एकता भंग गरेर पुरानै अवस्थामा फर्कन सकिने अवस्थाबारे पनि परामर्श गरिरहेका छन्। ‘यसो गर्दा दुवै पार्टी पुरानै अवस्थामा पुग्ने र चुनावमा जाँदा पनि सहज हुने भन्नेबारे छलफल भइरहेको छ,’ स्रोतले भन्यो, ‘एकता भंग गरेर केन्द्रीय कमिटीको बैठक राख्नेबारे पनि परामर्श हुँदैछ।’ संसद् विघटन गर्नुअघि गृहमन्त्री रामबहादुर थापालाई बालुवाटार बोलाएर छलफल गरेका ओलीले दिनभर सुरक्षा निकाय र अन्य परामर्शमा पनि थापालाई साथमै राखेका थिए। ‘ओली र थापाको गठबन्धन हुने अवस्था आएको छ। थापाले ओलीलाई अन्तिम अवस्थासम्म पनि साथ दिने सम्भावना छ,’ एक नेताले भने। पार्टी विभाजन हुँदा पूर्वमाओवादीका केही नेताले ओलीलाई साथ दिने सम्भावना बढेर गएको देखिन्छ।

हाल केन्द्रीय कमिटीमा पूर्वमाओवादीका २ सय ४ र पूर्वएमालेका २ सय ४० सदस्य छन्। पूर्वमाओवादी समूहमा रामबहादुर थापा पक्षका ३६ सदस्य छन्। तीमध्ये पम्फा भुसाल र देव गुरुङले थापालाई साथ दिने अवस्था छैन। ओली पक्षले लेखराज भट्टको पनि साथ पाइरहेको अवस्थमा थापासहित हरिबोल गजुरेल, टोपबहादुर रायमाझी, मणि थापाको साथ रहने विश्वास गरिएको छ। साथै वरिष्ठ नेता नेपाल पक्षका पनि केही केन्द्रीय सदस्यलाई ओलीले आफ्नो साथमा लिने प्रयास गरिरहेका छन्। ‘सकेसम्म यही केन्द्रीय कमिटीमा बहुमत पु¥याउने, नसके एकता प्रक्रिया भंग गरेर पूर्ववत् रूपमा फर्कने प्रयास भइरहेको छ,’ नेकपाका एक उच्च नेताले भने। बालुवाटार, खुमलटार र कोटेश्वरमा राति अबेरसम्म नेताहरूले आ–आफ्नो तयारीबारे परामर्श गरिरहेका थिए।

प्रकाशित : सोमबार, पुष ०६, २०७७०९:५०

नेकपाको औपचारिक फुट आज !