काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई भेटेर सहयोग मागेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघठन गरी वैशाख १७ र २७ गते मध्यावधी चुनाव गर्ने घोषणा गरेपछि प्रचण्डले सोमबार मन्त्री क्वार्टर पुल्चोकमै पुगेर गृहमन्त्रीसँग सहयोग मागेका हुन्। बादलसँग प्रचण्डको केहि समय मात्रै कुरा भएको र सो क्रममा प्रचण्डले सहयोग मागेको बताइएको छ।
प्रधानमन्त्रीले संसद विघठन गरेको विषयमा थापा अहिले सम्म खुलेका छैनन्। पछिल्लो समय ओली निकट रहेका थापाले विघठनको सम्बन्धमा आफ्नो धारणा सार्वजनिक गर्ने बुझिएको छ।
सोमबार बिहान बालुवाटारमा ओली पक्षधरहरुको भेलामा थापा सहभागी भएका थिएनन्। त्यस समयमा उनले पुल्चोकमा आफू निकट नेताहरुसँग छलफल गरेका थिए।
पूर्वमाओवादीबाट राष्ट्रिय सभा सदस्य बनेका बादलले आइतबार मन्त्रीबाट राजीनामा दिएका छैनन्। यससँगै उनी प्रधानमन्त्री केपी ओलीको पक्षमा उभिएको अनुमान गरिएको छ।