काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका नेताहरुले आफूलाई राम्रोसँग कम गर्न नदिएको आरोप लगाएका छन्।
सोमबार बिहान बालुवाटारमा आफ्नो समूहनिकट सांसदहरु सामू ब्रिफिङ गर्दै पार्टी अध्यक्ष समेत रहेका ओलीले नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले आफ्ना हातखुट्टा बाँधिदिएर काम गर्न नदिएको आरोप लगाएका हुन्।
आफू निकटका सांसदहरुलाई ओलीले संवैधानिक रिक्तता निम्त्याएर देशलाई संकटतर्फ लैजान खोजेकाले संसद विघटनको कदम उठाउन आफू बाध्य भएको सुनाए।
बालुवाटारमा प्रधानमन्त्रीले काठमाडौं उपत्यकामा रहेका सांसदहरुलाई पार्टी भित्रको विवाद र त्यसले निम्त्याएको घटनाक्रम सँग-सँगै प्रतिनिधिसभा विघटनको अवस्थाबारे ब्रिफिङ गरेका थिए।
ओलीले संविधान कार्यान्वयन भएको पाँच वर्ष बितिसक्दा पनि कयौँ संवैधानिक निकायमा पदपूर्ति गर्न पार्टीका नेताहरुबाट असहयोग भएको भन्दै दुख व्यक्त गरेका थिए।
प्रचण्ड बारे विशेष टिप्पणी
बालुवाटारको भेलामा ओलीले पार्टीका अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टीको उपाध्यक्षसरहको व्यक्ति भएको बताएका थिए।
पार्टीको उपाध्यक्षसरहको व्यक्तिले अध्यक्षलाई कुनै पनि हालतमा कारवाही गर्न नसक्ने उनको भनाई थियो। ओलीले प्रचण्डको चित्त बुझाउन मात्रै दोस्रो अध्यक्षको पद दिइएको जानकारी सांसदहरुलाई बताएका थिए।
“ऊ बेला प्रचण्डको चित्त बुझाउन दोस्रो अध्यक्ष दिइएको हो। त्यो भनेको उपाध्यक्षसरहको हो। अहिले पनि पार्टीको अध्यक्ष र संसदीय दलको नेता म हो, मैले गरेका निर्णय वैधानिक हुन्छन्”,ओलीले भेलामा भनेका थिए,”त्यही भएर उपाध्यक्षले गरेका भेला र बैठकले मलाई कारबाही गर्ने कुनै आधार छैन।”