नेकपाको औपचारिक फुट आज !

kf6L{ PsLs/0f 3f]if0ff sfo{qmddf /fli6«o ;efu[x sf7df8f}Fdf laxLaf/ g]kfn sDo'lgi6 kf6L{sf] PsLs/0f 3f]if0ff sfo{qmddf cWoIfåo s]kL zdf{ cf]nL / k'iksdn bfxfnnufot g]tfx? . t:jL/ M gjLg kf}8]n, /f;;

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुवै पक्षले एकले अर्कालाई कारवाही गर्न शुरु गरेका छन् । प्रधानमन्त्री एंव अध्यक्ष केपी शर्मा ओलीविरुद्ध अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालले कारवाही गरिसकेका छन् । उनिहरुले कारवाही गरेको पत्र निर्वाचन आयोगमा बुझाएको जानकारी दिएका छन् । आइतवार नै प्रधानमन्त्री निवास बालुवाटारमा बसेको दाहाल–नेपाल पक्षको स्थायी कमिटीको बैठकले ओलीलाई अनुशासनको कारवाही गर्ने भन्दै केन्द्रीय कमिटीमा प्रस्ताव लैजाने निर्णय गरेको थियो । केन्द्रीय कमिटीबाट निर्णय नगर्दै दाहाल–नेपाल पक्षले आयोगमा ओलीलाई अध्यक्षबाट हटाएको जानकारी गराएका छन् । दाहाल पक्षका नेता लिलामणी पोखरेलले सो पत्र आयोगमा दर्ता गराएको जानकारी दिएका छन् । उनिहरुले संसदीय दलको बैठक समेत बोलाएर दाहाललाइ दलको नेता भएको घोषणा समेत गरेका छन् । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।

ओलीलाई अध्यक्ष हटाएपछि उनको ठाउँमा पूर्व एमालेको तर्फबाट माधव नेपाललाई अध्यक्ष चयन गर्ने तयारी छ । नेपाललाई मंगलवारकै बैठकबाट अध्यक्ष चयन गर्ने कि अर्को बैठकबाट भन्ने टुंगो लागि नसकेको एक नेताले बताए । पार्टी एकता बेलाको सहमति र बिधान अनुसारनै दुई अध्यक्ष रहने र पूर्व एमाले तथा पूर्व माओवादीबाट एक एकजनाले अध्यक्षता गर्ने स्पिरिट अनुसार ओलीको ठाउँमा नेपाललाई अध्यक्ष घोषणा गरिने ती नेताले बताए ।

ओली पक्षले पनि सोमबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा पूर्वसांसदलाई बोलाएर छलफल गरेका छन् । छलफलमा प्रधानमन्त्री ओलीले पार्टीको अध्यक्ष आफु रहेको र आफ्नो हस्ताक्षर विनाको पत्रको कुनै वैधानिकता नहुने स्पष्ट पारेका थिए । उनले आफुले तत्कालै केन्द्रीय समितिको बैठक बोलाउने समेत जानकारी गराएका थिए । उनले जानकारी गराएको केही समयभित्रै मंगलबार विहान ९ बजे केन्द्रीय समितिको बैठक बोलाएका छन् ।

दाहाल–नेपाल पक्षले ओलीलाई अनुशासनको कारबाही गरिएको पत्र निर्वाचन आयोगमा पेश गरेपछि ओली पक्षले पनि दाहाललाई कारबाहीको तयारी गरेको छ । बालुवाटारमा बस्ने केन्द्रीय कमिटी बैठकले दाहाललाई अनुशासनहीन काम गरेको, आफ्नै पार्टीको अध्यक्ष तथा प्रधानमन्त्रीविरुद्ध विपक्षीसँग मिलेर अविश्वास प्रस्ताव दर्ता गर्न खोजेको, पार्टी एकता विपरीत गतिविधि गरेको लगायतका आरोप लगाउँदै अध्यक्ष पदबाट हटाउने तयारी गरेको ओली निकट स्रोतले जनाएको छ ।

बैठकले अन्य केही नेतालाई पनि कारबाही गरेर निर्वाचन आयोगलाई जानकारी गराउने सम्भावना रहेको एक नेताले बताए । पार्टी एकता टुंगिन नपाउँदै दाहालले एकता भंग गरेको अभियोगसहित निर्वाचन आयोगलाई जानकारी गराउने तयारी ओली पक्षको छ । दाहाल–नेपाल पक्षले भने मंगलबार दिउँसो बैठक राखेर ओलीलाई अध्यक्षबाट हटाउने तयारी गरेपछि ओली पक्षले काउन्टर कारबाही गर्न लागेको हो ।

दुवै पक्षले कारवाही गरेपनि बैधानिकतामा भने प्रश्न उठ्ने निश्चित छ । विधानअनुसार कुनै पनि निर्णय गर्न दुवै अध्यक्षको हस्ताक्षर अनिवार्य चाहिन्छ । जसले गर्दा यो मुद्धाले कानुनीधार समाउने देखिएको छ । दुवै पक्षले आफ्नो बहुमत रहेको दाबी समेत गर्दै आईरहेका छन् । केन्द्रीय कमिटी बैठक अगावै सोमबार दुवै पक्षले संसदीय दलको बैठक बोलाएर छलफल गरेका थिए । बालुवाटारमा भएको ओली पक्षको भेलामा ९२ सांसद उपस्थित भएको दाबी गरिएको छ भने दाहाल–नेपाल पक्षको भेलामा ९० सांसद आएको दाबी गरेका छन् । प्रतिनिधि सभामा नेकपाको सांसद १७४ भएपनि दुवै पक्षले दिएको संख्या भने १८२ पुगेको छ ।

बालुवाटारको भेलामा प्रधानमन्त्री ओलीले जनतासमक्ष क्षमा माग्दै निर्वाचनमा होमिन पूर्वसांसदलाई निर्देशन दिएका छन् । ओलीले दाहाल–नेपाल पक्षले आफूलाई अनुशासनको कारबाही गर्ने भन्ने हल्ला सुनेको भन्दै त्यस्ता निर्णय मनको चित्त बुझाउनलाई मात्र काम लाग्ने बताए । उनले आफ्नो हस्ताक्षर नभएको कुनै निर्णयले वैधता नपाउने भन्दै दाहालले आफूलाई कारबाही गर्न नसक्ने बताएको बैठकमा सहभागी सांसदले बताए ।

‘खै कसले अनुशासनको कारबाही गर्ने रे भन्ने सुनें, प्रचण्डले मलाई के कारबाही गर्नु ? मैले उनको भन्दा १० वर्षअघि पार्टी सदस्यता लिएको हुँ’, उनको भनाई उद्दत गर्दै एक सांसदले भने, ‘यस्ता कारबाही त सीपी र आरके मैनालीले मलाई २०२८ सालमा पनि गरेका थिए । तर, पछि प्रहरीले खोज्ने बेला मलाई नै पार्टीको कमाण्डर ठानेर खोज्यो ।’

यता, अर्का अध्यक्ष दाहालले भने पार्टीका अर्का अध्यक्ष एवं प्रधानमन्त्री ओलीले बोलाएको केन्द्रीय कमिटी बैठक नौटंकी मात्र भएको बताएका छन् । नयाँ बानेश्वरमा आफु निकट सांसदसँग उनले भने, ‘हामी केन्द्रीय कमिटीको बैठकमा जाँदैछौं भनेर हामीले हिजै स्थायी समितिको बैठकबाट निर्णय गरिसकेका छौं । त्यो निर्णय निर्वाचन आयोगलाई औपचारिक रुपमा जानकारी गराइसकिएको छ ।’ पार्टी एकता गर्दाका ४४१ जनाको हस्ताक्षरसहितको सूची निर्वाचन आयोगमा रहेको भन्दै उनले भने, ‘केन्द्रीय कमिटीको वैधानिकता अथवा बहुमतको स्थिति के हो भन्ने विचार नगरी निर्वाचन आयोगबाट कुनै कदम चालिने छैन भन्ने विश्वास पनि लिएका छौं । त्यसकारण हामीले धेरै चिन्ता गर्नुपर्ने अवस्था छैन ।’
केन्द्रीय समितिको अत्यधिक बहुमत आफूहरुसँग रहेकाले बैधानिकताको प्रश्न नउठ्ने दाहालको दाबी छ । ‘मलाई लाग्छ झण्डै दुई तिहाई हामी छौं’ उनले भने, ‘त्यसकारण वैधानिकतामा कुनै सवाल उठ्न सक्दैन । भोलि १ बजे कार्की पार्टी प्यालेसमा बस्ने केन्द्रीय समितिको बैठक नै वास्तविक हुन्छ । बालुवाटारमा बोलाइएको ९ बजेको कथित बैठक नौटंकीबाहेक केही हुँदैन ।’

प्रकाशित : मङ्गलबार, पुष ०७, २०७७०८:५९

प्रचण्डले मागे कांग्रेसको साथ !