काठमाडौं । सत्तारुढ दल नेकपा मंगलबार औपचारिक रुपमा विभाजन भएमा त्यसको प्रत्यक्ष असर प्रदेश सरकारमा देखिने भएको छ । सातमध्ये ६ वटा प्रदेशमा अहिले नेकपाको सरकार छ । जसमध्ये पूर्व एमालेको ४ र पूर्वमाओवादी केन्द्रको २ रहेका छन् । प्रदेश–१, बागमति, गण्डकी र लुम्बिनी प्रदेशमा ओली निकट नेताको नेतृत्वमा सरकार गठन भएको छ । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।
कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने पूर्व माओवादी नेताका नेतृत्वमा सरकार गठन भएका छन् । नेकपा विभाजन आउने वित्तिकै यी सरकारविरुद्ध पनि अविश्वासको प्रस्ताव दर्ता हुन सक्छन् । अहिले नेताहरु कुन पक्षमा भनेर खुल्न थालेकाले त्यसको प्रत्यक्ष असर प्रदेश सरकारमा पर्नेछ ।
स्रोतहरुका अनुसार प्रदेश–१, बागमति र कर्णाली प्रदेशका सरकार हेरफेर हुन सक्ने सम्भावना बलियो छ । अन्य प्रदेशमा पनि नयाँ गठबन्धन बन्ने सम्भावना पनि बलियो देखिएको छ । प्रदेश–१ मा शेरधन राई, बागमतिमा डोरमणी पौडेल, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ र लुम्बिनी प्रदेशमा शंकर पोखरेल मुख्यमन्त्री रहेका छन् । चारै जना ओली निकट नेताहरु हुन् ।
गण्डकी प्रदेशका महेन्द्रबहादुर शाही र सुदूरपश्चिम प्रदेशमा त्रिलोचन भट्ट मुख्यमन्त्री रहेका छन् । सबै मुख्यमन्त्रीले आफुसँग बहुमत रहेको दावी भने गर्दै आएका छन् । तर, पार्टी स्पष्ट रुपमा विभाजन भएपछि भने प्रदेश सरकारमा पनि अस्थिरता देखिने निश्चित छ । त्यसपछि अन्य दलसँग मिलेर सरकार गठन गर्ने वा बहुमत पु¥याउने देखिन्छ । त्यसका लागि अहिलेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको मुख्य भूमिका देखिनेछ ।