काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड-नेपाल पक्षले केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाउने निर्णय गरेको छ।
मंगलबार दिउँदो बसेको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधवकुमार नेपाल पक्षको स्थायी कमिटीको बैठकले ओलीलाई अध्यक्षबाट हटाउने निर्णय गरेको हो।
अहिले चलिरहेको बैठकले ओलीको ठाउँमा माधव नेपाललाई अध्यक्ष बनाउन प्रस्ताव गरेको नेकपा प्रचण्ड-नेपाल पक्ष निकट श्रोतले जनाएको छ। बैठकले ओलीलाई अध्यक्षबाट हटाउने निर्णय गर्दै नेपाललाई नयाँ अध्यक्ष बनाउने सहितको प्रस्ताव केन्द्रीय समिति बैठकमा लगिएको छ भने कार्यकारी अध्यक्षको प्रावधान राखिएको छैन ।
ओलीपक्षको छुट्टै भेलाले गर्यो गर्यो यस्तो निर्णय
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको केन्द्रीय कमिटीको तेस्रो बैठकले मौजुदा केन्द्रीय कमिटीमा थप गरी एक हजार १९९ सदस्यीय कमिटी विस्तार गरेको छ ।
बैठकमा पार्टीका प्रथम अध्यक्षका हैसियतले प्रधानमन्त्री ओलीले मौजुदा केन्द्रीय कमिटीमा ५५६ जना थप गर्ने गरी मनोनयनको प्रस्ताव गर्दा बैठकले सर्वसम्मरुपमा पारित गरेको थियो ।
नेकपाको मौजुदा केन्द्रीय कमिटीमा ४४७ रहेकामा ५५६ थप गर्ने प्रस्ताव पारित भएको र १९६ जना रिक्त राखिएको नेकपा केन्द्रीय प्रचार विभागका उपप्रमुख सूर्य थापाले जानकारी दिए।
मनोनीत सदस्यलाई अध्यक्ष ओलीले शपथसमेत गराएका थिए । बैठकले पार्टी प्रवक्ताको जिम्मेवारी स्थायी कमिटी सदस्य प्रदीपकुमार ज्ञवालीलाई दिएको छ ।