काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र देखिएको अनौपचारिक फुटको असर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसमा पनि देखिएको छ । प्रतिनिधिसभा विघटनको विरोध गरेको कांग्रेसले अबको बाटो के लिने भनेर पार्टीभित्र ध्रुवीकरण देखिएको छ । अधिकांश नेता चुनावमा जानुपर्ने धारणा बनाउन थालेपनि वरिष्ठ नेता रामचन्द्र पौडेल भने आन्दोलनमा जानुपर्ने जिकिर गरिरहेका छन् । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।
पार्टी कार्यलयमा मंगलबार बसेको केन्द्रीय समितिको बैठकमा सभापति शेरबहादुर देउवा पक्षले ‘आन्दोलनभन्दा अदालतको निर्णय कुर्नुपर्ने’ तर्क गरेका छन् । तर, पौडेल पक्षले भने ‘संविधान जोगाउन आन्दोलन गर्नुपर्ने’ पक्षमा उभिएका छन् । बैठकको सुरुमै विषय प्रवेश गराउँदै सभापति देउवाले संसद विघटनपछि मुलुकमा गम्भीर राजनीतिक वातावरण बनेकोले पार्टीभित्र बृहद छलफल गरेर निष्कर्षमा पुग्नुपर्ने भएको भन्दै एजेण्डा प्रस्तुत गरेका थिए ।
देउवाले सरकारको कदम अलोकतान्त्रिक र असंवैधानिक रहेको बताएपनि पार्टीको रणनीति के हुने भन्नेमा बैठकले सुझबुझपूर्ण निर्णय लिनुपर्ने उल्लेख गरेका थिए । ‘हामीले सरकारको विरोध गरिसकेका छौं । अदालतमा मुद्धा परेको छ । अब आन्दोलन गर्ने वा निर्वाचनमा जाने साथीहरुले आफ्नो धारणा राख्नुहोला’, बैठकमा देउवाले भनेका थिए । देउवाले सत्तारुढ पार्टीको आन्तरिक किचलोका कारण संसद विघटन भएको भन्दै नेकपाको राजनीति कसरी अगाडि बढ्छ, सोहीअनुसार नै कांग्रेसको रणनीति बनाउनुपर्नेमा जोड दिएको एक केन्द्रीय सदस्यहरुले बताएका छन् । उनले अब कानुनी पाटोलाई अदालतको जिम्मा लगाएर निर्वाचनको तयारीमा होमिनुपर्ने संकेत गरिदिएका छन् ।
सभापति देउवालगत्तै बोलेका वरिष्ठ नेता पौडेलले भने संसदमात्रै नभएर संविधानविरुद्ध नै षड्यन्त्र भएकोले आन्दोलनको विकल्प नरहेको बताए । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालसँग गोप्य भेट गरिसकेका पौडेलले बैठकमा भने, ‘यो देशमा ठूल्ठूला अपराध गर्ने र अपराध लुकाउनलाई झन् ठूलो अपराध गर्ने श्रृखंलाको निरन्तरता हो प्रतिनिधिसभा विघटनको कदम । लोकतन्त्रप्रति घात गर्ने निर्णय उल्ट्याउनुपर्छ त्यसका लागि जेजे गर्नुपर्ने हो तयार हुनुपर्छ ।’ पौडेलले ‘अध्यादेशदेखि विघटनसम्म’ मिलीभगत भएको हुनसक्ने आशंका गर्दै संविधान जोगाउनका लागि आन्दोलनमा जानुपर्ने बताएका छन् ।
नेता पौडेलले कांग्रेसले संवैधानिक परिषद्मा भाग पाउदैमा त्यसलाई सदर गर्नुपर्छ भन्ने नरहेको जिकिर पनि गरे । परिषद् बैठकले देउवाले दिएका नामपनि सिफारिस गरेपछि पौडेल असन्तुष्ट रहेका छन् । ‘संवैधानिक परिषद सम्बन्धी अध्यादेशमार्फत् गरिएका संवैधानिक नियुक्तिपनि खारेज गर्नुपर्छ । कसैले भाग पाउँदैमा संवैधानिक नियुक्ति सदर हुँदैन’, बैठकमा पौडेलले भने ।
मंगलबारको केन्द्रीय समिति बैठकमा देउवा र पौडेलबाहेक ३ जना केन्द्रीय सदस्यहरुले धारणा राखेका थिए । तीनै जनाले आन्दोलनभन्दा निर्वाचनलाई प्राथमिकता दिनुपर्ने बताए । ‘संसद विघटन प्रधानमन्त्री केपी ओलीको मात्रै कदम होइन । यो निर्णयको स्रोत प्रचण्ड र माधव नेपालपनि हुन् । यसर्थ समग्र नेकपा यो प्रकरणमा दोषी छ’ केन्द्रीय सदस्य महेश आचार्यले भने । आचार्यले नेकपाको प्रचण्ड पक्षसंग सडक वा अदालत कुनैपनि स्थानमा सहकार्य गर्न नहुने भन्दै अदालतको आदेश कुर्नुपर्ने बताए ।
बैठकमा धारणा राखेका सभापति देउवा निकट केन्द्रीय सदस्य एनपी साउदले आन्दोलन अन्तिम विकल्प नभएको बताए । ‘संसद विघटनविरुद्ध अदालतमा मुद्धा परिसकेकोले हामीले मुद्धा दिन आवश्यक छैन । अदालतले नै यसको निरुपण गर्ने भएपछि हामी आन्दोलनमा जानैपर्ने पनि छैन । त्यसैले अब चुनावको तयारीमा लाग्नुपर्छ’, बैठकमा साउदले भने । उनले सरकारले गरेको कमजोरी कि त अदालतले कि त जनमतले उल्टाउने उल्लेख गरेका थिए ।
बैठकमा बोल्ने अर्का केन्द्रीय सदस्य डा. नारायण खड्काले पनि आन्दोलन खतरनाक विकल्प हुने बताए । ‘आन्दोलन डेन्जरस हुनसक्छ । भोली सबैका एजेण्डा सडकमा आउँदा हाम्रो एजेण्डा लजिकल इन्डमा नपुग्न पनि सक्छ । त्यसैले पार्टीलाई एकताबद्ध गरेर चुनावमा जानुपर्छ’, बैठकमा खड्काले भने ।
कांग्रेस केन्द्रीय समितिको बैठक अझै केहीदिन लम्बिने निश्चित छ । सभापति देउवा संसद विघटनबारे अदालतमा परेका मुद्धाबारे प्रारम्भिक सुनुवाई नहुँदासम्म बैठक लम्ब्याउने पक्षमा छन् । सर्वोच्च अदालतले १० वटा रीटहरुमाथि बुधबार पेशी तोकेको छ भने संवैधानिक इजलास पुगेका २ रीटमाथि शुक्रबार पेशी तोकिएको छ ।
सभापति देउवा निकट केन्द्रीय सदस्यहरुले आन्दोलनभन्दा चुनावको तयारी गर्नुपर्ने धारणा राख्न थालिसकेका छन् । बैठकलगत्तै पौडेल पक्षका केही केन्द्रीय सदस्यहरु भने पौडेलको कोठामा परामर्शमा जुटेका थिए । पौडेल पक्षका एक केन्द्रीय सदस्यले संसद विघटनको निर्णयका कारण कांग्रेसमा पनि ध्रुवीकरण चुलिने बताए । नेकपाको अनौपचारिक फुटको असर स्पष्ट रुपमा कांग्रेसमा देखिएकाले त्यहाभित्र पनि संकट देखिनेसक्ने विश्लेषण गरिएको छ ।