काठमाडौँ – ‘नेकपा एमाले र माओवादी केन्द्र मिसिएको रूपमा होइन, हामी घोलिएका छौं। हिन्द महासागरमा गएर हामीले सेती, कोसी खोजेर पाइँदैन,’ २०७५ जेठ ३ गते प्रधानमन्त्रीसमेत रहेका तत्कालीन नेकपा एमालेका अध्यक्ष केपी शर्माले तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकीकरण सभामा दिएको मन्तव्यको अंश हो। दुई पार्टी मिलेर गठन भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई हिन्द महासागरसँग तुलना गर्दै मुलुकलाई अब आर्थिक विकास र समृद्धिको बाटोमा अघि बढाउने ओलीको कुरा उनका नेता तथा कार्यकर्तालाई मात्र होइन, आम जनतामा समेत उत्साह भरेको थियो, अब देशमा केही हुन्छ। दुई पार्टी मिलेर गठन भएको नेकपा देश र जनताको पक्षमा खरो रूपमा उत्रिनेछ। यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ।
विगतबाट पाठ सिकेर नेताहरूले सल्लाह, विचार, विमर्श, विश्लेषण गरी अगाडि बढ्नेछन् र मुलुकलाई पनि अघि बढाउनेछन्। तर साढे दुई वर्ष बित्दानबित्दै त्यही हिन्द महासागर फेरि खहरेमा परिणत भएको छ। कम्युनिस्ट जुट्न जान्दैनन्, फुट्न मात्र जान्दछन् भन्ने कुरा इतिहास भइसक्यो भन्ने ओलीको भनाइ खण्डित भएको छ। इतिहास फेरि वर्तमान भएको छ। त्यो पनि नेताहरूको व्यक्तिगत स्वार्थ टकराउँदा दुई पार्टीबीच अन्तरघुलन होइन, विभाजन हुन पुगेको छ। साढे दुई वर्षअघि अचानक पार्टी एकता गरेर नेता तथा कार्यकर्तालाई उत्साहित गराएका केपी शर्मा ओली र पुष्पकमल दाहालले त्यसरी नै फेरि पार्टी विभाजन गरेर निराशामा बदलेका छन्।
विचार, सिद्धान्त, कार्यक्रमभन्दा सत्ता स्वार्थले एक ठाउँमा आइपुगेका उनीहरूबीचको अविश्वासको खाडल हटेन। बरु, अविश्वास र स्वार्थ झाँगिँदै जाँदा अन्ततः नेकपा विभाजन हुन पुगेको छ। दुई अध्यक्षबीच छलफल र समझदारीमा सरकार र पार्टी चलाउने बताएका ओली र दाहालले मंगलबार आफूनिकटका नेताहरूको बैठक राखेर आ–आफ्नो नयाँ पसल सुरु गरेका छन्। आ–आफ्नो खर्कबाट पानीघाटमा जा“दा भेटिएका चौंरीजस्तै पार्टी एकता गरेर केही समय एकै ठाउ“मा देखिए पनि ओली र दाहाल फेरि आ–आफ्नो बाटो समाएका छन्। एकअर्कालाई आरोप, आक्षेप र कारबाही गर्दै दुवै पक्ष आफूलाई प्रमाणित गर्ने होडमा जुटेका छन्।
वाम विश्लेषक श्याम श्रेष्ठले विचार, सिद्धान्तभन्दा स्वार्थका आधारमा एकीकरण भएका पार्टीहरू तासको घरजसरी यसरी नै ढल्ने गरेको बताए। एकताका बेला गर्नुपर्ने काम नगरेर सत्ता स्वार्थलाई मात्र केन्द्रमा राखिएको टिप्पणी गर्दै श्रेष्ठले भने, ‘गणित मिल्दासम्म पार्टी मिल्यो जुन दिन हिसाब मिलेन पार्टी फुट्यो।’
नेताले सबैलाई समेटर हिँड्न सक्नुपर्ने धारणा राख्दै उनले भने, ‘एक्लै खाऊँ, एक्लै हिँडौं भन्दा पार्टी फुट्दो रहेछ। अहिले नेकपामा त्यही भयो।’ बिपी कोइराला र पुष्पलालले फरक मत र विचारलाई सुन्ने र स्थान दिँदा पार्टीहरू विभाजनमा नपुगेको स्मरण गर्दै विचार र सिद्धान्तभन्दा कुर्सी कुराले महŒव पाउँदा पार्टी पछिल्ला दिनमा पार्टीहरू विभाजित हुन पुगेको उनको बुझाइ छ।