काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले संसदीय दलका नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चयन गरेको छ ।
नयाँ बानेश्वरस्थित संसद् भवनमा आज बसेको सो पक्षका पूर्वसांसद् र सांसदको बैठकले केपी शर्मा ओलीलाई दलको नेताबाट हटाएर दाहाललाई चयन गरेको निवर्तमान सांसद देवप्रसाद गुरुङले जानकारी दिए।
बैठकमा अर्का पार्टी अध्यक्ष माधवकुमार नेपालले मङ्गलबार बसेको केन्द्रीय कमिटीको बैठकले गरेको निर्णयका बारेमा पूर्वसांसद र सांसदलाई जानकारी गराएका थिए ।
केन्द्रीय कमिटीको मङ्गलबारको बैठकले ओलीलाई पार्टी अध्यक्षको जिम्मेवारीबाट मुक्त गरी नेता नेपाललाई सर्वसम्मतिले चयन गरेको थियो । बैठकमा राष्ट्रियसभा र विघटित प्रतिनिधिसभाका ११५ जना सदस्यको उपस्थिति रहेको गुरुङले जानकारी दिए।
संसद पुनर्स्थापित गररे नयाँ सरकार बनाउने घोषणा
संसदीय दलका नेताको रुपमा चयन भएपछि प्रचण्डले प्रतिनिधि सभालाई जीवन्त राख्ने आफूहरुको योजना रहेको बताएका छन्। संसदीय दलको नेता चयन गरेपछि पत्रकारहरुसँग कुराकानी गर्दै प्रचण्डले प्रतिनिधि सभालाई जीवन्त राख्ने बताए।
नेपाली जनताले लामो समयको संघर्षबाट प्राप्त गरेको संघीय गणतन्त्र, समावेशी लोकतन्त्र र प्रतिनिधि सभालाई जीवन्त राख्न आफूले प्रयास गर्ने प्रचण्डले बताए।
“मैले नेपाली जनताले लामो समयको संघर्षबाट प्राप्त गरेको संघीय गणतन्त्र, समावेशी लोकतन्त्र र यो प्रतिनिधि सभालाई जीवन्त राख्नेमा मैले मैले प्रयत्न गर्नेछु । मलाई विश्वास छ नेपाली जनताको भरोसामा सबै राजनीतिक दलहरुसँग सहकार्य गर्दै, सबै माननीय सदस्यहरुको पनि विश्वास लिएर संसदलाई जीवित राख्न र त्यहाँबाट जनता र राष्ट्रको पक्षमा काम गर्न मैले सबै तागत लगाउनेछु ।”,उनले भने।
साथै प्रचण्डले संसद पुनर्स्थापित गरेर नयाँ सरकार बनाउने बताए। संसद पुनर्स्थापित गरेर नयाँ सरकार बनाउने कुरामा आफूहरु प्रतिवद्ध रहेको उनको भनाई छ।