काठमाडौँ – युवतीको प्रयोग गरी लुटपाट गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा युवतीलाई लिफ्ट माग्न लगाई कुनै निश्चित ठाउँमा पुर्याएर लुट्ने गिरोहका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा दोलखाको शैलुङ गाउँपालिका-३ घर भई काठमाडौं स्युचाटार बस्ने ४९ वर्षीय लालबहादुर श्रेष्ठ रहेका छन्। श्रेष्ठलाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलिले पक्राउ गरेको हो।
के थियो घटना ?
सिन्धुली कमलामाई नगरपालिका-२ स्थायी घर भएका भोलाबहादुर जर्घामगर गत साउन ८ गते मोटरसाइकलमा रत्नपार्कबाट कलंकी जाँदै थिए। रत्नपार्कमा एक युवतीले जर्घामगरसँग लिफ्ट मागिन्।
युवतीले उनलाई कलंकी सम्म पुर्याइदिन भनेकी थिइन्। कलंकी पुगेपछि युवती केहिबेर उत्रिइन् र उनलाई चोभारसम्म पुर्याइदिन आग्रह गरिन्। भोलाबहादुरले युवतीको अनुरोधलाई अस्विकार गरेनन्, चोभारसम्म नै पुर्याइदिए।
चोभार पुगेपछि जे भयो, त्यसले उनलाई प्रहरीको जान बाध्य बनायो। चोभार पुग्दा त्यहाँ अन्य दुई जना युवा बसिरहेका थिए। जसले उनलाई नियन्त्रणमा लिए र भोलाको साथमा रहेको ६ तोला सुनको सिक्री, मोबाइल, चश्मा र सात हजार रुपैयाँ लुटेर भागे।
अनुसन्धान हुँदै
भोलाबहादुर लुटिएपछि प्रहरी निरन्तर अनुसन्धानमा खटियो। जसक्रममा सो गिरोहका एक व्यक्तिलाई पक्राउ गर्न प्रहरी सफल भयो। पक्राउ पर्ने लालबहादुर श्रेष्ठ माथि अनुसन्धान गर्दा उक्त गिरोहले अन्य व्यक्तिलाई पनि लुटिसकेको खुलेको प्रहरीले जनाएको छ।
“प्रारम्भिक अनुसन्धानको क्रममा निज सागर भन्ने लालबहादुर श्रेष्ठ समेतका मानिसहरुले अन्य स्थानहरुमा समेत युवतीको प्रयोग गरि बिभिन्न मानिसहरुलाई लुटपाट गरेको भन्ने बुझिन आएको हुँदा सो सम्बन्धमा समेत अनुसन्धान कार्य भई रहेको ।”,श्रेष्ठलाई पक्राउ गरेपछि एक विज्ञप्ति जारी गर्दै महानगरीय अपराध महाशाखाले जनाएको छ।