पर्व सूचना तथा संचार मन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य गोकुल प्रसाद बाँस्कोटाले प्रचण्ड-माधव नेपाल पक्षले आज माइतीघरमा गरेको प्रदर्शनलाई लक्षित गर्दै सडक तताउनेलाई सडककै शुभकामना भन्दै व्यंग्य गरेका छन्।
शुक्रबार सामाजिक सञ्जाल ट्वीटरमा बाँस्कोटाले सडक तताउनेलाई सडककै शुभकामना भन्दै ट्वीट गरेका छन्। त्यस्तै उनले उक्त ट्वीट मार्फत ओली पक्षका नेता तथा सभामुखलाई भने मिसन ‘hundred 21’ मा लाग्न आग्रह समेत गरे।
उनले लेखे,”सडक तताउनेलाई सडककै शुभकामना ओली नेतृत्वकाे नेकपाका साथीहरु चै मिसन ‘hundred 21′ काे तयारीमा विना अल्मल सामेल बनाै।” बाँस्कोटालाई ओली निकट मानिन्छ।
संसद् विघटन विरुद्ध प्रचण्ड-नेपाल पक्षको आन्दोलन
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले प्रतिनिधिसभा विघटनको विरोधमा शुक्रबार बिहान माइतीघर मण्डलामा विरोध प्रदर्शन सुरु गरेको छ ।
प्रधानमन्त्रीको कदम असंवैधानिक भएको भन्दै उनीहरुले ‘हामी यहाँ छौं’ नारा लेखिएको प्लेकार्ड सहित प्रदर्शनमा उत्रिएका छन्।
बिहीबार बसेको केन्द्रीय कमिटी बैठकले संसद् विघटनको विरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्ने प्रस्ताव पारित गरेसँगै दाहाल–नेपाल पक्षका सबै केन्द्रीय कमिटी सदस्य र सांसदहरु माइतीघरमण्डलामा उपस्थित भएका हुन्।
माइतीघर मण्डलामा जम्मा भएर संयुक्त पत्रसहित निर्वाचन आयोगमा जाने र २ बजे पत्रकार सम्मेलन गर्ने प्रचण्ड–नेपाल समूहको तयारी रहेको छ।