काठमाडौँ – सवारी चालक अनुमतिपत्र (लाइन्सेन्स) को अनलाइन फाराम खुल्ने भएको छ। कोरोना भाइरस महामारीका कारण १० महिना देखि ठप्प रहेको सवारी चालक अनुमतिपत्र (लाइन्सेन्स) को अनलाइन फाराम खुल्ने भएको हो।
कोरोना महामारीको जोखिम बढेपछि मन्त्रिपरिपद्ले गरेको निर्णय अनुसार अत्यावश्यक सेवा बाहेकका अन्य सेवाहरु गत चैत ११ गते देखि बन्द रहेकोमा सवारी चालक अनुमतिपत्र (लाइन्सेन्स) को अनलाइन फाराम मंगलबार देखि खुल्न लागेको यातायात व्यवस्था विभागले जनाएको छ।
विभागले शुक्रबार एक विज्ञप्ति जारी गर्दै चारपाङ्ग्रे र दुईपाङ्ग्रे दुवै प्रकारका सवारी साधनको परीक्षा खुल्ने भएको जानकारी गराएको छ। मंगलबारबाट सातै प्रदेशमा एकैपटक अनलाइन र प्रयोगात्मक परीक्षा (ट्रायल) खुलाइने छ।
“नेपाल सरकार (मन्त्रिपरिपद्)को मिति २०७६/१२/१० मा विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभीड-१९ को कारण अत्यावश्यक सेवा बाहेकका अन्य सेवाहरु बन्द गर्ने निर्णय बमोजिम मिति २०७६/१२/११ गते देखि सवारी चालक अनुमति पत्रको अनलाइन फाराम बन्द गरिएको व्यहोरा बिदितै छ । यसरी वन्द भएको सवारी चालक अनुमति पत्रको अनलाइन फाराम नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेका स्वास्थ्य सम्बन्धी मापदण्डहरु परिपालन गर्ने व्यवस्था गरी मिति २०७७/०९/१४ गते मंगलबार देखि खुला गरिने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।”,विभागद्वारा जारी विज्ञप्तिमा भनिएको छ।