“पोचिटिन्हो पिएसजी जाने, मेस्सी ल्याउने”

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) ले थोमस टुलेचलाई बर्खास्त गरेसँगै टोटेनहमका पूर्व प्रशिक्षक माउरिसियो पोचिटिन्होलाई नयाँ प्रशिक्षकका रुपमा नियुक्त गर्ने चर्चा शुरु भएको छ।

अन्तराष्ट्रिय संचार माध्यमहरुका अनुसार पिएसजीले पोचिटिन्होलाई नयाँ प्रशिक्षकका रुपमा नियुक्त गर्ने सम्भावना उच्च छ। टोटेनहमबाट बर्खास्त भएपछि खालि रहेका पोचिटिन्हो पिएसजीका लागि सबै भन्दा उत्कृष्ट विकल्प हुन सक्ने बताइन्छ।

पोचिटिन्हो पिएसजीका पूर्व खेलाडी समेत हुन्। उनले सन् २००१ देखि २००३ सम्म पिएसजीबाट खेलेका थिए । केहि समय अगाडी रियल म्याड्रिडले जिनेदिन जिदानलाई बर्खास्त गरेर पोचिटिन्होलाई नयाँ प्रशिक्षकका रुपमा नियुक्त गर्ने चर्चा चलेको थियो। तर, म्याड्रिड लयमा फर्किएसँगै पोचिटिन्हो म्याड्रिड जाने सम्भावना सकिएको छ।

मेस्सी र पिएसजीसँग जोडेर चर्चा

फुटबल जानकारहरुको अनुमान मान्ने हो भने पोचिटिन्हो पिएसजी गएको खण्डमा बार्सिलोनाका लियोनेल मेस्सी पिएसजी जाने सम्भावना बढेर जानेछ। मेस्सी र पोचिटिन्हो एकै देशका रहेका कारण पनि सम्भावना बढ्ने फुटबल जानकारहरु बताउँछन्।

पोचिटिन्होका कारण मात्र नभई मेस्सी नेयमारका कारण पनि पिएसजी जान सक्छन्। यस अगाडी नेयमारले पनि मेस्सीसँग छिट्टै भेट हुने सङ्केत गरिसकेका छन्। केहि समय अगाडी नेयमारले सन् २०२१ मा मेस्सीसँगै खेल्ने विश्वास व्यक्त गरेका थिए। जसपश्चात मेस्सी पिएसजी जाने चर्चा शुरु भएको थियो।

प्रकाशित : शनिबार, पुष ११, २०७७१५:१२

ग्वार्डियोला र एनरिके विश्वकै उत्कृष्ट प्रशिक्षक हुन्: मेस्सी