काठमाडौँ – हुम्लाका प्रतिनिधि सभा सदस्य छक्क बहादुर लामाले केन्द्रीय सदस्य पद परित्याग गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ओली पक्षद्वारा केन्द्रीय सदस्य नियुक्त गरिएका लामाले शनिबार केन्द्रीय सदस्य पद परित्याग गरेका हुन्।
लामाले शनिबार एक विज्ञप्ति जारी गर्दै ओली पक्षको केन्द्रीय सदस्य परित्याग गरी नेकपा (प्रचण्ड–नेपाल) पक्षमा यथावत रहने जानकारी गराएका छन्। गत निर्वाचनको जनमतको कदर र हुम्लावासीको सुझावलाई कदर गर्दै ओली पक्षको केन्द्रीय सदस्य परित्याग गरेको उनको भनाई छ।
उनले आफू ओली पक्षमा लागेको भन्ने बाहिरी हल्लाका पछि नलाग्न र भ्रममा नपर्न सवै पार्टी नेता कार्यकर्ता र हुम्लावासीलाई आग्रह समेत गरेका छन्। यस्तै नेता लामाले प्रचण्ड नेपालको मुल पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा एकताबद्ध भएर बस्न अनुरोध समेत गरेका छन्।
“आमा हुम्लाबासी जनता कार्यर्ताको सल्लाह सुझाव र भावनलाई सम्बोधन गरी नेकपा (ओली) नेतृत्वको केन्द्रीय आयोजक सदस्यको पदलाई परित्याग गरी नेकपा (प्रचण्ड–नेपाल) पार्टी संगठनमा यथावत रहेको विश्वास दिलाउँदै बाहिर आएको हल्लाको भ्रममा नपर्न सम्पूर्ण पार्टी कार्यकर्ता र हुम्लीबासी जनतालाई विचिलित नभइ प्रचण्ड–नेपालको मूल पार्टीमा एकतावद्ध भएर बस्न अनुरोध गर्दछु”,विज्ञप्ति जारी गर्दै उनले भनेका छन्।
नेकपा अहिले ओलीपक्ष र प्रचण्ड-नेपाल पक्ष गरी दुई पक्षमा स्पष्ट रुपमा विभाजित देखिएको छ। पार्टीमा अल्पमतमा परेपछि ओलीले केन्द्रीय सदस्य थपेका थिए। ओलीले थपेका केन्द्रीय सदस्यहरुले भट्टभट केन्द्रीय सदस्य बन्न अस्विकार गरिरहेका छन्।