काँग्रेसमा फेरी ज्योतिषीको चर्चा, फेरी प्रधानमन्त्री बन्नेमा देउवा ढुक्क !

काठमाडौँ — कांग्रेस सभापति शेरबहादुर देउवालाई धेरै अघि बुटवलका एक ज्योतिषीले ‘६ पटक प्रधानमन्त्री बन्छस्’ भनिदिएको विषय अहिले पार्टीभित्र फेरि चर्चामा छ । यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ।

शुक्रबारको केन्द्रीय कार्यसमिति बैठकमा नेता ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिनिधिसभा पुन:स्थापना भए पनि कांग्रेस निर्णायक शक्ति हुने पृष्ठभूमि जोड्दै प्रधानमन्त्रीको लाइनमा को–को हुनुहुन्छ, ज्योतिषीकोमा हेराउन गए हुन्छ भनी धारणा राखेका थिए । कार्कीले त्यसो भन्दा देउवा मक्ख मात्रै थिएनन्, उनले बोलेर सकिनासाथ कार्कीको भनाइको जवाफ पनि दिइहाले ।

‘मै प्रधानमन्त्री बन्ने सम्भावना छ,’ देउवाको प्रतिक्रिया उद्धृत गर्दै केन्द्रीय कार्यसमितिका एक सदस्यले भने, ‘हाम्रा सभापतिजीलाई प्रधानमन्त्री बन्न कति आशक्ति छ भन्ने कुरा शुक्रबारकै बैठकमा पनि देखाउनुभयो । ज्योतिषीले भनेजस्तै परिस्थिति पनि उहाँकै वरिपरि आइरहेको छ ।’

सत्ताका लागि जस्तो पनि जोखिम मोल्न सक्ने छवि बनाएका देउवाले प्रतिनिधिसभा विघटनको घटनालाई पनि आफ्नो लाभहानिसँग तुलना गर्न थालेको भनेर यतिबेला पार्टीभित्र चर्को आलोचना भइरहेको छ तर जति नै आलोचना भए पनि उनी आफूले लिएको अडानबाट हल्लिएका छैनन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेलसहित इतरपक्षीय अधिकांश नेताले संविधानवाद र लोकतन्त्रमा विश्वास गर्ने पार्टीले प्रधानमन्त्री ओलीको प्रतिनिधिसभा विघटन गर्ने कदमलाई असंवैधानिक भनेर मात्रै नहुने, पुन:स्थापनाको माग राखेर जनतामाझ जानुपर्ने अडान राखिरहेका छन् । पार्टीले पनि त्यही निर्णय लिनुपर्ने यो पक्षको अडान छ ।

तर देउवा प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भन्ने तर पुन:स्थापनाको मुद्दा नउठाउनेमा दृढ देखिन्छन् । उनले शनिबार जारी गरेको विज्ञप्तिमा पनि प्रतिनिधिसभा पुन:स्थापनको विषय कतै उल्लेख गरेका छैनन् । प्रतिनिधिसभा विघटनको असंवैधानिक कदमविरुद्ध विरोध प्रदर्शन गर्न लागेको बताएका छन् तर असंवैधानिक कदम कुन माध्यमबाट सच्चिने हो भन्नेबारेमा उनी मौन छन् ।

वरिष्ठ नेता पौडेलले सभापति देउवाको विज्ञप्तिलाई काउन्टर दिँदै असंवैधानिक कदम सच्याउनकै लागि कांग्रेसले प्रदर्शन गर्न लागेको भन्दै देशभरका पार्टी पंक्ति र आमनागरिकलाई सहभागी हुन आग्रह गरेका छन् ।

प्रकाशित : आइतबार, पुष १२, २०७७०९:००

खतरनाक छ द्रुत गतिमा फैलिरहेको कोरोनाको नयाँ भाइरस