काठमाडौं । युरोपेली देशहरुमा पछिल्लो समय फैलिएको कोरोना भाइरसको नयाँ जीवाणु निक्कै खतरनाक पाइएको छ । बेलायात, नेदरल्याण्ड, अष्ट्रेलिया, आइसल्याण्ड, डेनमार्कमा निक्कै द्रुत गतिमा फैलिएको कोरोना भाइरसको नयाँ प्रकारले विश्व नै तरंगित बन्न पुगेको हो । यो भाइरसको फैलावटसँगै बेलायत, वेल्स र स्कटल्यान्डमा नयाँ चौथो स्तरको कडा प्रतिबन्धहरू लागु भएका छन् । विश्वका धेरै देशहरुले बेलायतबाट हुने हवाई तथा स्थलयात्रामाथि प्रतिबन्ध लगाएका छन् । यसको फैलाबट कम गर्न सबै देशहरुले तयारी थालेका छन् । नेपालले पनि बेलायतबाट र बेलायत हुदै आउने यात्रुलाई प्रवेशमा निषेध गरेको छ । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।
कोरोना भाइरसको नयाँ प्रजातिको विकास भएसँगै कोरोना संक्रमणको बारेमा अध्ययन गरिरहेका परामर्शदाताहरूले भाइरसको नयाँ प्रकार अन्यको दाँजोमा छिटो संक्रमण हुने गुण भएको बताएका छन् । त्यसमा अध्ययन गरिरहेका नेपाली अनुसन्धानकर्ता डा.प्रकाश घिमिरे यो भाइरसको जानकारी प्रारम्भकै भएकाले त्यसका अनुत्तरित प्रश्नहरू पनि धेरै नै हुने बताउछन् ।
कोरोनाकै खोपको ट्रायल भैरहेको समयमा नयाँ प्रजातिको संक्रमणको खोपभन्दा पनि यसले कत्तिको असर पार्छ भनेर अनुसन्धान भैरहेको छ । डा.घिमिरेका अनुसार बेलायतको लण्डनमा २० सेप्टेम्बरदेखि १३ अक्टोबरसम्म गरिएको अध्ययनमा एक चौथाइ जति सक्रमितमा भाइरसको यो प्रकारबाट भएको थियो । मध्य डिसेम्बरसम्म आइपुग्दा संख्या निक्कै बढेकाले यो चिन्ताको बिषय बन्न पुगेको उनले बताए ।
विश्वभरिमा कोरोनाभाइरसको ‘जेनेटिक कोड’ को अनुगमन गरिरहेको संस्था ‘नेक्स्टस्ट्रेन’ ले डेनमार्क र अष्ट्रेलियामा फेला परेका कोरोनाभाइरसको नयाँ प्रकारको उद्गमनै बेलायत रहेको सार्वजनिक गरिसकेको डा.घिमिरेले भने । डा.घिमिरेले ‘म्युटेसन’ भाईरसको आफु जस्तै हुबहु स्वरुपका कपिहरु बनाई फैलिने प्रक्रिया भएको बताउछन् । ‘स्वरुप परिवर्तन गरेर फैलदा सबै भाइरस शक्तिशाली हुन्छन् भन्ने हुँदैन’ डा.घिमिरेले भने, ‘केही कमजोर पनि बन्छन्, केही बलियो बनेर आउँछन्, अहिले बेलायतमा देखिएको भाइरस बलियो देखिएको छ ।’
‘जीनको असर पुस्तौसम्म देखिन सक्छ’ डा.घिमिरे भन्छन्, ‘हजुरबुबाको दाह्रीजुँगा छैन भने नातीको धेरै दाह्रीजुँगा पलाउन सक्छ, नातीको धेरै दाह्रीजुँगा आएमा काट्न मिलाउन खर्च हुने भयो नै ।’ उनले त्यस्तै कोरोनाको जीनले समेत असर गर्ने वा नगर्ने भन्ने त्यसको सकृयतामा आधारित हुने बताए । ‘यसरी लाखौं आर.एन.ए. का कपिहरु बन्ने फैलिने क्रममा कम्तिमा पनि ५–६ पल्ट म्युटेसन भएर पहिलेको भन्दा अलग वा फरक आकार स्वरुपका आर.एन.ए. हरु पनि बन्न सक्दछन’ यो नै बेलायतमा देखिएको नयाँ स्वरुप हुन सक्छ,डा.घिमिरेले भने ।
अहिले कोरोनाको खोप बनेको छैन । कुनै पनि देशका बनेका खोपहरुलाई विश्व स्वास्थ्य संगठनले अन्तिम मान्यता दिएको छैन । अहिले विश्वमा लगाइरहेका खोपहरु आकस्मिक प्रयोजनका लागि लगाइएका खोपहरु हुन् । अहिले विकसित खोपहरू कोरोनाभाइसको नयाँ प्रकारमाथि पनि प्रभावकारी हुन्छन भनेर निर्माण कम्पनीले दावी गरे पनि प्रमाणित भने भै सकेको छैन ।
यसैबीच नेपालले भारतमा बनिरहेको कोरोनाविरुद्धको खोपमा चासो देखाएको छ । भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले खोप निर्माता कम्पनी र सरकारी अधिकारीसँग नयाँ दिल्लीमा भेटवार्ता गरेका छन् । राजदूत आचार्यले खोप निर्माता कम्पनी सीरम इन्ष्टिच्युटका एक वरिष्ठ अधिकारी प्रकाश सिंह र नीति आयोगका प्रमुख अभिताभ कान्तसँग भेटवार्ता गरेका छन् । बेलायतको अक्सफोर्ड विश्वविद्यालयले विकास गरिरहेको खोप नेपाललाई सुहाउदो रहेको देखिएपछि उनले सो विषयमा छलफल गरेका हुन् । ७० देखि ९० प्रतिशत प्रभावकारी रहेको बताइएको सो खोपको दुई डोजलाई करिव १५ सय भारतिय रुपैयाँ पर्ने बताइएको छ ।