नेकपा दरारपछि चीनले उच्चस्तरीय टोली पठाउदै, भारतको गोप्य चासो !

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र देखिएको फुटपछि प्रमुखतह दुई छिमेकी राष्ट्रले बढि चासो व्यक्त गरेका छन् । भारतभन्दा यसपटक उत्तरी मुलुक चीनले बढि चासो र चिन्ता व्यक्त गरेको छ । भारतले पहिला जस्तो प्रत्यक्ष प्रभाव पार्न नखोजेपनि चीनले भने नेकपाको अनौपचारिक विभाजनपछि भेटघाटलाई तिव्रता दिएको छ । प्रतिनिधिसभा विघठनपछि एकाएक नेपालस्थित चिनियाँ राजदूत होउ यान्छी सक्रिय भएकी थिइन् । उनले राष्ट्रपति विद्यादेवी भण्डारी, नेकपा अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल तथा चिनियाँ कम्युनिष्ट पार्टीका विश्वासपात्र भनेर चिनिने कृष्णबहादुर महरासँग छुट्टा छुट्टै भेटवार्ता गरेकी छन् । भेटका बारेमा विस्तृत जानकारी नदिएपनि दुई देशको सम्बन्धका विषयमा छलफल भएको बताइएको छ । तर, विस्तृत रुपमा के विषयमा छलपल भयो भन्नेबारेमा खुलाइएको छैन । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।

नेकपाकै कतिपय नेताका अनुसार चीन अझै पनि नेकपा विभाजन नहोस् भन्ने पक्षमा देखिएको छ । चीनले नेकपा एकीकृत भएर अझै जाओस् भन्ने आफुहरुको चाहना रहेको सन्देश बारम्बार दिईरहेको छ । यसअघिका विवादमा पनि चीनले यही सन्देश प्रवाह गरेको थियो । नेपालस्थित चिनियाँ दूतावासले पनि पटक पटक विवाद हुन थालेपछि सरकार परिवर्तन भएपनि नेकपा नफुटोस् भन्ने चीनको सन्देश रहेको बताएको थियो । तर, सरकार परिवर्तनको संकेत देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघठन गरिदिएका थिए ।

प्रधानमन्त्री ओलीको कदमपछि चिन झस्किएको छ । आफु अनुकुलको सरकार नेपालमा नबन्ने देखिएपछि अहिले दुवै पक्षलाई मिलाउने सक्रियता देखाएको छ । चीन नेपालमा स्थिर सरकार बनोस् भन्ने पक्षमा देखिएको छ । स्थिर सरकार बनेको थाहा पाएपछि नै राष्ट्रपति सि जिनफिङले नेपालको भ्रमण समेत गरेका थिए । विवाद बढेर अनौपचारिक फुटसम्म पुगेको अवस्थामा आइतवार चीनका राष्ट्रपति सि जिनफिङले आफ्नो विशेष सन्देश दिएर एक उच्चस्तरीय टोली नेपाल पठाउने भएका छन् ।

चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय कमिटीका अन्तराष्ट्रिय विभागका महानिर्देशक छुइ यान नेतृत्वको टोली नेपाल आउने भएको हो । टोली नेपाल बसाइका क्रममा महत्वपूर्ण भेटवार्ता गर्ने भएको छ । विशेषगरी ओली इत्तर खेमाको टोलीसँग उनले भेटवार्ता गर्ने बताइएको छ । सो टोलीले प्रधानमन्त्री ओलीसँग भेटवार्ता गर्छ वा गर्दैन भन्नेबारेमा केही पनि खुलाइएको छैन । उत्तरी छिमेकी राष्ट्र चीनले दुवै पक्षलाई मिलेर जान दवाव दिने स्रोतको दावी छ । तर, चीन र नेकपाको दुवै पक्षले यो भ्रमणका विषयमा केही खुलाएको छैन ।

विगतमा दक्षिणी छिमेकी राष्ट्र भारतले नेपालको आन्तरिक राजनीतिमा यस्तै प्रभाव राख्ने गरेको थियो । तर, पछिल्लो पटकको विवादमा उ देखिने गरी सतहमा आएको छैन । अनौपचारिक विभाजनको अघि सक्रिय रहेको भारत वर्तमान सरकार नै निरन्तर रहोस् भन्ने शुभेच्छा व्यक्त गरेको स्रोतको दावी छ । विशेषगरी दुई देशबीचको सीमा विवादलाई लिएर भारत बढि चिन्तित बनेको छ । चीनसँग विवाद रहिरहेका बेला नेपालसँग पनि विवाद बढे भारतलाई घाटा लाग्ने सक्ने उसले विश्लेषण गरिरहेको छ ।

भारतीय उच्च स्रोतलाई विश्वास गर्ने हो भने यहीबीचमा नेपाल–भारतबीच सीमा विवादका विषयमा छलफल हुने सम्भावना पनि प्रवल रहेको छ । नेपालका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली पनि भारत जाने तयारी गरिरहेका छन् । कतिपयले औपचारिक भ्रमणको तालिका तय भएको बताएपनि दुवै देशका अधिकारीले अहिलेसम्म कुनै टुंगो लागि नसकेको जानकारी दिएका छन् । भारतीय विदेशसचिवको नेपाल भ्रमणकै क्रममा निमन्त्रणा दिएपनि भ्रमणको अन्तिम टुंगो नलागेको बताइएको छ ।

यसपटकको नेकपाको विवाद र संसद विघठनका विषयमा भारतले मात्र औपचारिक प्रतिक्रिया दिएको छ । विघठनको पाँच दिनपछि भारतले यो नेपालको आन्तरिक मामिला भएकाले आफुहरुले नोटमात्र गरेको प्रतिक्रिया दिएको थियो । यद्यपी चीनले अहिलेसम्म कुनै पनि आधिकारिक प्रतिक्रिया दिएका छ्रैनन् । तर, भारत र चीनका सञ्चारमाध्यमले भने नेपालमा राजनीतिक अस्थिरता ल्याउन एकअर्का सक्रिय रहेको दोषारोपण गरिरहेका छन् । जुन विगतमा हुने गरेको थिएन ।

प्रधानमन्त्री ओलीले संसद विघठन गरी बैशाख १७ र २९ गते मध्यावधि निर्वाचन गर्ने घोषणा गरिसकेका छन् । विघठनविरुद्ध संवैधानिक इजलासमा मुद्दा परेर २२ पुषदेखी निरन्तर सुनुवाई हुदैछ । नेपालको विकसित राजनीतिक घटनाक्रमलाई लिएर दुई छिमेकी राष्ट्रले चासो दिनुलाई निक्कै चासोपूर्वक हेरिएको छ । यो बीचमा नेकपाका दुवै पक्षले विवादलाई छोडेर एकजुट हुन आव्हान पनि गरिरहेका छन् ।

प्रकाशित : आइतबार, पुष १२, २०७७०९:१०

जनआवाज – “राष्ट्रपतिलाई हटाएर राजा राखौं”