“परिणाममुखी काम गरेर देखाउँछु”

काठमाडौं, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले मुलुकको अर्थतन्त्रको दरिलो आधारका रुपमा रहेको पर्यटन क्षेत्रलाई गतिशील बनाउन नीतिगत सुधारका साथ प्रभावकारी योजना अघि बढाइने बताएका छन्।

शुक्रबार पर्यटन मन्त्रालयको जिम्मेवारी पाएका मन्त्री ढकालले सिंहदरबारमा आज पदभार ग्रहण गर्दै मन्त्रालयको कानूनी समस्या सुल्झाउन तत्काल गरिनुपर्ने निर्णय र मन्त्रिपरिषद्मा रोकिएका तथा सरोकारवाला मन्त्रालयसँग गर्नुपर्ने समन्वय सहजीकरणका लागि पहल गर्ने विश्वास दिलाए।

उनले भने, ‘मन्त्री फेरिँदा झस्किनु पर्दैन, अनुशासनमा रहेर काम गर्नुस् सबैको अभिभावकत्व ग्रहण गर्नेछु, म सपना देखाउँदिन परिणाममा विश्वास गर्छु त्यसैले सपनामा रङ्गिनेभन्दा व्यावहारिक हुनेगरी योजना निर्माण र कार्यान्वयन हुनुपर्छ।’

अतिरिक्त सुविधा र सेवाका निम्ति मन्त्रीप्रति कोही व्यक्ति लालहीत हुनु नपर्ने उनको भनाइ थियो। स्वाभिमान र इमानलाई बन्दक राखेर अतिरिक्त सुविधा र पैसा कमाउनु आफ्नो राजनीतिक उद्देश्य नरहेकाले मन्त्रालयभित्रका विकास योजना आर्थिक मितव्ययी र पारदर्शी ढङ्गले अघि बढाइनुपर्नेमा उनले जोड दिए।

उनले पर्यटन मन्त्रालय मातहत ठूला क्षेत्र, धेरै ठाउँमा थला पर्दै, पारिँदै आएकाले कसरी समाधान गर्ने भन्ने चुनौती रहेको उल्लेख गर्दै सरोकारवालासँग समन्वयात्मक ढङ्गले काम गर्दा नै सफलता हासिल हुने विश्वास व्यक्त गरे।

मन्त्री बद्लिएर पनि सरकार र कार्यनीति बद्लिएको छैन भन्दै मन्त्री ढकालले योजना समयमै सम्पन्न गर्ने परिपार्टीको विकास गर्न मातहत निकायलाई निर्देशन दिए। उनले मुलुक चुनावी माहोलमा गएकाले राजनीतिक रङ्गले मन्त्रालयलाई असर नगरोस् भन्नेतर्फ सजक रहेर सेवा प्रवाहलाई चुस्त र पारदर्शी बनाइनुपर्नेमा जोड दिए।

यसअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारीमा रहेका मन्त्री ढकाल पर्यटनमन्त्री बनेका हुन्। शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले मौजुदा मन्त्रिपरिषद्मा नौ सदस्य नयाँ थप गर्दै केही मन्त्रीको जिम्मेवारी हेरफेर गरेका थिए।

मन्त्री ढकालको यो तेस्रो मन्त्रालयको जिम्मेवारी हो। यसअघि करीब १४ महीना न्याय, कानून तथा संसदीय मामिला मन्त्रालय र पछिल्लोपटक १३ महिना स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री बनेका थिए।

कोभिड–१९ महामारीको सामना गर्ने अप्ठ्यारो अवस्थामा स्वास्थ्यमन्त्रीको जिम्मेवारी पाउँदा शक्तिशाली विकसित ठूला राष्ट्रले दिन नसकेको स्वास्थ्य सेवा जनतालाई दिलाउन सफल भएको र पछिल्लो पटक देशका सबै गाउँपालिकामा स्वास्थ्य सेवा विस्तार गर्नेजस्ता स्वास्थ्य क्षेत्रमा नयाँ क्रान्ति ल्याउनेगरी काम भएको उनले उल्लेख गरे।

सो अवसरमा मन्त्रालय मातहतका पर्यटन विभाग, पुरातत्व विभाग, क्यान, नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स), नेपाल पर्यटन बोर्डलगायत संस्थाका प्रमुख एवं प्रतिनिधिले मन्त्री ढकाललाई बधाई ज्ञापन गर्दै आफ्ना गतिविधिबारे जानकारी गराएका थिए।

प्रकाशित : आइतबार, पुष १२, २०७७१५:०९

मन्त्री बन्ने बितिकै शहरी विकासमन्त्री साहले भने – ‘नयाँ शहर बनाउँछु’