एजेन्सी – इटालियन क्लब युभेन्टस्का पोेर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले ‘ग्लोवो सकर अवार्ड’ अन्तरगतको ‘प्लेयर अफ दि सेन्चुरी’ अवार्ड जितेका छन् ।
रोनाल्डोले अर्जेन्टिनी लियोनेल मेस्सी, ब्राजिली रोनाल्डिन्हो र इजिप्टको मोहम्मद सलाहलाई पछि पार्दै यो अवार्ड जितेका हुन् । यो अवार्डका लागि रोनाल्डोले समर्थकबाट ३८ प्रतिशत मत पाएका थिए । मेस्सीले २४ प्रतिशत, सलाहले २३ प्रतिशत र रोनाल्डिन्होले १४ प्रतिशत मत प्राप्त गरेका थिए ।
दुवर्ईमा आइतबार राति भएको अवार्ड समारोहमा उनलाई ‘प्लेयर अफ दि सेन्चुरी’ घोषणा गरिएको छ । आयोजकले २००१ देखि २०२० सम्म खेलाडीले गरेको प्रदर्शनलाई आधार मान्दै विजेता छनोट गरेको हो । ३५ वर्षीय रोनाल्डोले यो अवधिमा इंग्ल्यान्ड, स्पेन, इटाली र पोर्चुगलबाट विभिन्न उपाधि जितेका छन् । त्यसलाई नै आधार मान्दै उनलाई यो अवार्ड प्रदान गरिएको हो ।
रोनाल्डाले पोर्चुगलबाट सन् २०१६ मा युरोकप, २०१८ मा युइएफए नेसन्स लिग जितेका थिए । ५ पटकको बालोन डि ओर विजेता रोनाल्डोले इंग्ल्यान्डको म्यानचेस्टर युनाइटेड, स्पेनको रियल म्याड्रिड र इटालीको युभेन्ट्सबाट थुप्रै उपाधि जितेका छन् ।
‘अवार्ड जितेर खुशी लाग्यो ।’ रोनाल्डोले भने, ‘यति धेरै वर्षसम्म यो खेलको शीर्ष हुन सजिलो छैन । म साँच्चिकै गर्व गर्छु, तर टोली, महान प्रशिक्षक र क्लबविना यो सम्भव छैन ।’
यस्तै प्रशिक्षण करियरमा उत्कृष्ट सफलता हात पारेका इंग्लिस क्लब म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओला कोच अफ दि सेन्चुरी घोषित भएका छन् । उनले स्पेन, जर्मनी र इंग्ल्यान्डमा आफ्नो टोलीलाई च्याम्पियन बनाएका थिए । समारोहमा उनी अनुपस्थित रहँदा भिडियो सन्देशबाट यो अवार्ड ग्रहण गरेका थिए ।
जर्मन क्लब बायर्न म्युनिखका पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीलाई वर्ष पुरुष खेलाडी र प्रशिक्षक हान्सी फ्लिकलाई वर्ष प्रशिक्षक घोषणा गरिएको छ । स्पेनिस क्लब रियल म्याड्रिडलाई क्लब अफ दि सेन्चुरी तथा बायर्न म्युनिखलाई टिम अफ दि इयर अवार्ड प्रदान गरिएको छ । जर्ज मेन्डिसलाई एजेन्ट अफ दि इयर प्रदान गरिएको छ ।
स्पेनका पुर्व कप्तान तथा गोलरक्षक इकर कासियास र जेरार्ड पिकेले प्लेयर करियर अवार्ड जिते ।ग्लोवो सकर अवार्ड २०१० मा स्थापना भएको हो । यो अवार्डले हरेक वर्ष उत्कृष्ट टोली छनोट गर्दै अवार्ड प्रदान गर्ने गर्दछ ।