“प्रधानमन्त्री ओलीका कारण देशमा विदेशी चलखेल शुरु भयो”

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल—नेपाल समूहका नेता योगेशकुमार भट्टराईले आफ्नो समूह अहिले पनि पार्टी एकताकै पक्षमा रहेको बताएका छन् ।

प्रेस सङ्गठन नेपालले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा भट्टराईले आफूहरु अहिले पनि पार्टी एकताकै पक्षमा रहेको बताएका हुन्।

पूर्वमन्त्री समेत रहेका भट्टराईले त्यसका लागि प्रधानमन्त्री केपी शर्मा ओली सच्चिएर आउनुपर्ने बताए। नेकपाका स्थायी कमिटी सदस्य भट्टराईले संविधानमा कहीँकतै प्रधानमन्त्रीले संसद् विघटन गर्न सक्ने व्यवस्था नभएको विचार व्यक्त गरे ।

निर्वाचन अहिले मुलुकका लागि आवश्यक नभएको तर्क राख्दै पूर्वमन्त्री भट्टराईले प्रतिनिधिसभा विघटनको निर्णय सच्चिनेमा आफूहरु विश्वस्त रहेको बताए ।

अन्तर्राष्ट्रिय चलखेल बढ्यो

यस्तै भट्टराईले संसद विघटनपछि नेपालमा अन्तर्राष्ट्रिय चलखेल बढेको समेत बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि नेपालमा अन्तर्राष्ट्रिय चलखेलको ढोका खुलुेको उनको भनाई छ।

संसद विघटन गर्ने अधिकार संविधानले नदिएको अवस्थामा समेत ओलीले अख्तियारको दुरुपयोग गरेर संसदको विघटन गरेको भट्टराईले आरोप लगाए।

प्रधानमन्त्री ओलीको संसद विघटन गरेपछि नेपाल पुनः अस्थिरतातर्फ अग्रसर भएको भट्टराईले बताए। संसद विघटन गर्ने कदमबाट नेपाल र नेपालीलाई माया गर्ने विदेशी समुदाय पनि दुःखी भएको उनको भनाई छ।

प्रकाशित : सोमबार, पुष १३, २०७७११:५४

लकडाउनमा समेत निगमले नाफा कमायो !