एजेन्सी – गोविन्दा र करिश्मा कपूर स्टारर बलिउड फिल्म कुली नम्बर वानको रिमेक रिलिज भएको छ। सारा अली खान र वरुण धवनको मूख्य भूमिका रहेको चलचित्र डिसेम्बर २५ मा रिलिज भएको हो।
सन् १९९५ मा रिलिज भएको कुली नम्बर वानले अहिलेको समय सम्म आइपुग्दा १ सय ३० करोड कमाई गरिसकेको छ। २५ वर्ष अगाडी रिलिज भएको उक्त चलचित्रका केहि स्टारकास्ट अझै अभिनयमा छन् भने केहि अभिनय मात्र नभई संसारबाटै बिदा समेत भइसकेका छन्।
कोको थिए त कुली नम्बर वानका स्टारकास्ट ? अहिले के गर्दै छन् ?
करिश्मा कपूर : मालती
चलचित्रमा करिश्माले मालतीको भूमिका निभाएकी थिइन्। चलचित्रमा उनले गरेको अभिनयलाई धेरै रुचाइएको थियो। अहिले करिश्मा अभिनयमा सक्रिय छैनन्। पछिल्लो समय उनी आफ्ना सन्तानको हेरचाहमै व्यस्त छिन्।
गोविन्दा: राजु कुली (कुँवर महेन्द्र प्रताप सिंह)
चलचित्रमा राजु कुलीको भूमिका गोविन्दाले निभाएका थिए। राजु कुलीको भूमिका गोविन्दाको करियरकै उत्कृष्ट मध्ये एक मानिन्छ। गोविन्दा अझै पनि चलचित्र क्षेत्रमै सक्रिय छन्। गोविन्दाको पछिल्लो चलचित्र ‘रंगीला राजा’ सन् २०१९ मा दर्शक माझ आएको थियो।
कंचन : शालिनी
कुली नम्बर वान फिल्ममा करिश्मा कपूर (मालती )की बहिनीको भूमिका खेल्ने कंचन अन्तिम पटक सन् १९९८ मा आएको चलचित्र मोहब्बत और जंगमा देखा परेकी थिइन्। त्यसयता उनी अभिनयमा सक्रिय छैनन्।
हरीश कुमार : दीपक
कुलि नम्बर एकमा हरीश कुमारले दीपकको भूमिका निभाएका थिए, जो गोविन्दा (राजु) का साथी थिए। फिल्ममा उनको अभिनय पनि प्रशंसनीय थियो। यद्यपि उनले अभिनय गर्न छाडिसकेका छन्।
कादर खान : होशियारचंद
चलचित्रमा होशियारचंदको रुपमा देखा परेका कादर खान संसार बाटै बिदा भइसकेका छन्। उनको सन् २०१८मा निधन भएको थियो। खानले सन् २०१६ मा आएको चलचित्र ‘अमन के फरिश्ते’मा अन्तिम पटक अभिनय गरेका थिए।
टीकू तलसानिया : पुलिस इन्स्पेक्टर पान्डे
चलचित्रमा ‘पुलिस इन्स्पेक्टर पान्डे’को भूमिका निभाएका टीकू तलसानिया पछिल्लो समय खासै चलचित्रहरुमा देखिएका छैनन्। उनलाई पछिल्लो पटक सन् २०१८ मा आएको चलचित्र ‘सजन रे झूठ मत बोलो’मा देखिएको थियो।
शक्ति कपूर : गोवर्धन मामा
कुली नम्बर वान फिल्ममा गोवर्धन मामाको भूमिका निभाउने शक्ति कपूरले धेरै बलिउड हिटमा काम गरिसकेका छन्। शक्ति कपूर पछिल्लो पटक ‘शिमला मिर्च’ चलचित्रमा देखिएका थिए।
कुलभूषण खरबन्दा : गजेन्द्र प्रताप सिंह
कुली नम्बर एक फिल्ममा गजेन्द्र प्रताप सिंहको भूमिका खेल्ने कुलभूषण खरबन्दा अझै अभिनयमा सक्रिय छन्। उनलाई हालसालै वेब सीरीज मिर्जापुरमा देखिएको थियो।
सदाशिव अमरापुरकर : पण्डित शादीराम घरजोडे
चलचित्रमा पण्डित शादीराम घरजोडेको भूमिका निभाएका सदाशिवले धेरै चलचित्रमा काम गरेका छन्। सदाशिवको सन् २०१४मा ६४ वर्षको उमेरमा निधन भएको थियो।