खानेकुराहरुको स्वाद र गन्ध थाहा नपाउनु कोरोना भाइरसको प्रमुख लक्षण मध्ये एक हो। तर जुन मानिसहरुमा कोरोना लामो समयसम्म (Long Covid Symptoms) देखिएको छ तिनीहरुमा अरु नयाँ कुरा महसुस भईरहेको छ। युकेको प्रसिद्ध ईएनटी सर्जन तथा प्रोफेसरका अनुसार कोरोनाबाट लामो समयदेखि पीडित मानिसको शरीरबाट माछाको तेज गन्ध र सल्फर जस्तो दुर्गन्ध आईरहेको छ।
यस असामान्य साइड इफेक्टलाई पेरोस्मिया(Parosmia) भनिन्छ जसमा सुँघ्ने क्षमता बिग्रिन्छ । यो लक्षण खासगरी युवा र स्वास्थ्यकर्मीहरुमा देखिएको छ। जनस्वास्थ्य विज्ञहरुले यस लक्षणलाई अत्यन्तै विचित्र र अनौठो बताएका छन्। डाक्टरहरुले मार्च महिनामा कोरोना भाइरसको एक प्रमुख लक्षणको रुपमा एनोस्मिया(Anosmia) यानी (सुँघ्ने क्षमतामा कमी) लाई पहिचान गरेका थिए।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार युकेमा लामो समयदेखि एनोस्मियाको उपचार भईरहेको हजारौं बिरामीहरुमा पेरोस्मियाको अनुभव भईरहेको छ। ती बिरामीहरुको सुँघ्ने क्षमता भ्रमित भईरहेको छ। धेरैजसो बिरामीहरुलाई केही दुर्गन्ध आइरहेको जस्तो भान हुने हुँदा उनीहरु हैरान छन्। यसको असर उनीहरुको जिन्दगीमा परिरहेको छ।
लङ कोभिड यानी लामो समयसम्म कोरोना भाइरसको संक्रमण रहँदाको असर थुप्रै हप्ता र महिनासम्म शरीरमा रहन सक्छ। डाक्टरले यसलाई न्युरोट्रोपिक भाइरसको रुप भएको बताएका छन्। डाक्टरहरुका अनुसार यस भाइरस र शिरको नशाको बीच एक सम्बन्ध हुन्छ, खासगरी त्यो नशा जसले गन्ध चिन्न मद्दत गर्छ। यद्यपि यसले अन्य नशालाई पनि प्रभावित गर्छ।
केही मानिसहरुमा मतिभ्रम हुने, राम्ररी निदाउन नसक्ने, श्रवनशक्ति कमजोर हुने जस्ता लक्षणहरु देखिएका छन्। जनस्वास्थ्य विज्ञहरुले हालसम्म यसको सटिक कारण थाहा नभएको तर ती बिरामीलाई निको पार्न पूरा कोसिसमा लागेको बताएका छन्।
लण्डन निवासी २४ वर्षीय ड्यानियल सेवेस्कीले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँग कुरा गर्दै भने – ‘मार्च महिनामा कोरोना भाइरसबाट संक्रमित भएपछि दुई हप्तासम्म मैले स्वाद र सुँघ्ने क्षमता गुमाए र अहिले मलाई पेरोस्मिया भएको डाक्टरले बताएका छन्।’ सेवेस्कीले बताए कि उनलाई सल्फर या टोस्ट जलेको जस्तो दुर्गन्ध कतैबाट आएको जस्तो महसुस हुन्छ। अहिले पहिलेको जस्तो मज्जा लुटेर खाना खान नसकेको दुखेसो पोख्छन् सेवेस्की।
लिन कार्बेट नामकी एक अर्की महिलाले बताईन् कि मार्च महिनामा उनले स्वाद र सुँघ्ने क्षमता गुमाएकी थिईन्। जुन महिनामा उनको सुँघ्ने क्षमतामा सुधार आएको थियो तर पहिलेको जस्तो बिल्कुलै थिएन। कार्बेट भन्छिन् – ‘अहिले धेरैजसो खराब गन्ध आउँछ जुन मैले पहिले कहिल्यै महसुस गरेको थिईन्। मलाई कफी निकै मन पर्थ्यो तर अहिले त्यसबाट बियर र पेट्रोल जस्तो गन्ध आउँछ।’
युकेमा पेरोस्मियाका बिरामीहरुका लागि स्मेल ट्रेनिङको नाममा थुप्रै थेरापी सेसनहरु चलिरहेका छन्। यसमा बिरामीहरुलाई हरेक दिन लगभग २० सेकेन्डको लागि गुलाब, कागती, ल्वाङ र नीलगिरीको तेल सुँघ्नको लागि दिईन्छ ताकि बिस्तारै उनीहरुमा सुँघ्ने क्षमता फिर्ता आऊन्। केही सुरुवाती रिपोर्टसका अनुसार यसप्रकारको ट्रेनिङबाट बिरामीहरुलाई केही हदसम्म राहत महसुस पाइरहेका छन्। धेरैजसो मानिसहरुले पहिलेको जस्तै आफ्नो स्वाद र सुँघ्ने क्षमता पाएको अनुभव गरेका छन्।