प्रचण्डको ठोकुवा – “चुनावमा हामीले पक्का जित्छौं”

काठमाडौँ – विभाजित नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले करोडाैं जनताबाट बनेको संविधान ओलीले सनकको भरमा मिचेको आरोप लगाएका छन्।

सोमबार जनसंस्कृतिक महासंघले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले करोडाैं जनताको महत्वपूर्ण भूमिकाबाट बनेको संविधान ओलीले सनकको भरमा मिचेको आरोप लगाएका हुन्।

प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली जंबहादुर राणाको बाटोमा हिँडेको आरोप लगाए। ओली जंबहादुर राणाको बाटोमा हिँडेकै दिनबाट आफूहरुको विजय यात्रा सुरु भएको प्रचण्डको भनाई छ।

“केपी ओली सामन्ती शासक श्री ३ महाराजधिराज जंगेको बाटोमा हिँड्नुभयो । त्यस दिनबाट उहाँको पराजय र हाम्रो विजय यात्रा सुरु भयो ।”,उनले भने।

यस्तै प्रचण्डले आफूहरु जनता माझ जान तयार रहेको पनि बताएका छन्। प्रचण्डले आफूहरु चुनाव जित्नेमा निर्धक्क रहेको सुनाए। प्रचण्डले जनता माझ जाने मुद्दा दिएकोमा ओलीलाई धन्यवाद पनि दिए।

“उहाँ (प्रधानमन्त्री) त कलंकित हुनुभइहाल्यो, हामीले बाजी जितिसक्याैं, उहाँले बाजी हार्नुभो। हामीले चुनाव जित्छाैं, केही दिनको कुरा मात्र हो। हामी ऐतिहासिक जिम्मेवारी पूरा गर्न तयार छाैं। केही साथीहरु लोभमा ओलीको लाइनमा गएका छन्। राजनीतिमा यस्तो हुन्छ। हामीले चिन्ता लिएका छैनाैं। दुई चार दिनपछि उहाँहरु फर्किनुहुन्छ। हामी क्षमा दिन्छाैं। यस्तो भइराख्छ।”,उनले भने,”केपीजीलाई धन्यवाद । तपाईले हामीले जनतामा जाने मुद्दा दिनुभयो । संविधान, संघीयता, गणतन्त्रको पक्षमा लड्ने मुद्धा दिनुभयो । अर्को चुनाव हामी जित्छौं ।”

प्रकाशित : सोमबार, पुष १३, २०७७१५:२९

अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्छ भन्नेमा रामचन्द्र पौडेल ढुक्क !