काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटनबारे अदालतको निर्णय मान्ने घोषणा गरेका छन्।
संसद विघटनको विरोधमा भक्तपुर क्षेत्र नम्बर २ मा आयोजित विरोध प्रदर्शनलाई सम्बोधन गर्नेक्रममा देउवाले संसद विघटनको विषय अदालतमा पुगेको उल्लेख गर्दै अदालतको निर्णय आफूहरुलाई मान्य हुने बताए।
अदालतमा विचराधीन मुद्दालाई प्रभावित गर्न नहुने भन्दै देउवाले सर्वोच्चको निर्णयलाई पर्खने बताए। नेपाली कांग्रेस अदालतको निर्णय मान्ने पार्टी रहेको पनि उनले दावी गरे।
“अदालतमा विचराधीन मुद्दामा यो गर ऊ गर भनेर हाम्रो पार्टीले भन्दैन।”,उनले भने,”यो मुद्दा अदालतमा छ । हाम्रो पार्टी अदालतको निर्णय मान्ने पार्टी हो ।”
यस्तै देउवाले प्रतिनिधिसभा विघटन गरेर ओलीले असंवैधानिक कार्य गरेको पनि बताएका छन्। ओलीको कदम असंवैधानिक मात्र नभई लोकतन्त्रको मान्यता विपरित रहेको पनि बताए।
अदालतको निर्णय नआएसम्म आफूहरु विरोध प्रदर्शन गरिरहने देउवाको भनाई छ। देउवाले पञ्चायतमा समेत अदालतबाट न्याय पाइएको उल्लेख गर्दै अहिले पनि अदालतले न्याय दिने विश्वास व्यक्त गरे।
साथै देउवाले ओलीको कदम विरुद्ध थप विरोधका कार्यक्रम गर्ने पार्टीको योजना रहेको जानकारी गराए। ओली कदम विरुद्ध पार्टीले योजना गर्ने कार्यक्रमहरुमा सहभागी भएर खबरदारी गर्ने नेता तथा कार्यकर्तालाई देउवाको निर्देशन छ।