काठमाडौं । नेपालको अनौपचारिक तर महत्वपूर्ण भ्रमणमा रहेको चिनियाँ टोलीले नेकपाका सबै नेतासँग भेटवार्ता गरेको छ । परराष्ट्र मन्त्रालयलाई पाखा लगाउदै भएको भेटमा विशेष गरी चिनियाँ टोलीले नेकपामा देखिएको विवादलाई चासोमा राखेको हो । चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय कमिटी अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौको नेतृत्वमा आएको टोलीले आइतवार राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीसँग परामर्श गरेको थियो । त्यसपछि सोमबार सो टोलीले पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, विघठित प्रतिनिधिसभाका सभामुख अग्नी सापकोटा र डा. बाबुराम भट्टराईसँग छुट्टा छुट्टै छलफल गरेको हो । चार दिने नेपाल बसाईका क्रममा सो टोलीले शुरुमा नेकपाका नेताहरुको कुरा सुनेर केही प्रश्न मात्र गरेको छ । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।
चिनियाँ टोलीले नेकपाको विवाद के हो र मिलन विन्दु के हुन सक्छ भनि प्रश्न गरेको हो । प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले संसदको नयाँ निर्वाचनमा मिलेर जान सकिने बताएको स्रोतले जानकारी दिएको छ । संसद पुनःस्थापनाको अवस्था के छ भनेर विशेष चासो राखेको थियो । तर, ओलीले परिस्थिति निक्कै अगाडी बढिसकेकाले निवार्चनमा एकताबद्ध भएर जान सकिने विचार राखेको स्रोतले जानकारी दिएको छ । सो पक्षको विचार सुनेपछि सोमबार दाहाल–नेपाल खेमाका नेताहरुसँग भेटवार्ता गरेको छ । अध्यक्ष दाहालसँग टोलीले विहान उनकै निवास खुमलटारमा भेटवार्ता गरेको थियो । दाहाल निकट एक नेताले दिएको जानकारी अनुसार चिनियाँ विशेष टोलीले नेकपाको पार्टी एकतालाई कायम राख्न आग्रह गरेका छन् । जवाफमा दाहालले प्रधानमन्त्री ओली सच्चिएमा आफू मिलेर अघि बढ्नको लागि तयार भएको बताएका हुन् । दाहालले ओलीले प्रतिनिधि सभा विघटनलाई फिर्ता लिनुपर्ने अडान चिनियाँ टोली समक्ष राखेका छन् । येचौले के अब नेकपा मिल्न नसक्ने अवस्थामा पुगेको हो भन्दै चासो राखेका थिए । तर, दाहालले त्यस्तो अवस्था नरहेपनि ओली भने सच्चिनुपर्ने एकमात्र धारणा आफुहरुको रहेको बताए ।
त्यसपछि चिनियाँ टोलीले दाहाल–नेपाल समूहका अर्का अध्यक्ष माधवकुमार नेपालसँग वानेश्वरस्थित एभरेष्ट होटलमा भेटवार्ता गरेको छ । नेपाल निकट एक नेताका अनुसार चिनियाँ टोली टोलीका सदस्यहरुले नेकपाको एकतालाई कायमै राख्नको लागि सुझाव दिएका थिए । जवाफमा नेता नेपालले पहिला ओली सच्चिनु पर्ने धारणा राखेका थिए । त्यसपछि चिनियाँ टोली पूर्व प्रधानमन्त्री तथा अर्का नेकपा (दाहाल–नेपाल समूह) का नेता डल्लुमा झलनाथ खनाललाई भेट्न डल्लु पुगेको थियो । टोलीले खनाललाई पनि एकतालाई कायमै राख्नको लागि आग्रह गरेको खनाल निकट एक नेताले जानकारी दिए ।
खनाललाई भेटेर चिनियाँ टोली सभामुख अग्नी सापकोटालाई भेटेको छ । चिनियाँ टोलीले सोमबार साँझ पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग भेट गरेको छ भने मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्ने कार्यक्रम रहेको छ । यी भेटवार्तामा के–के विषयमा छलफल भए भनी आधिकारिक रुपमा जानकारी दिइएको छैन । चिनियाँ प्रतिनिधि मण्डल नेपाल सरकारको निम्तोमा काठमाडौं ओर्लिएका भने होइनन् । नेकपाको विवाद मिलाउने प्रयत्नस्वरुप चिनियाँ टोली हतारोमा आएको नेकपाका नेताहरुले बताएका छन् । परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले नेपाल सरकारको निम्तोमा चिनियाँ टोली काठमाडौं आएको नभएकाले के–के विषयमा को–को सँग छलफल भयो भन्ने विषयमा आफूहरु अनभिज्ञ रहेको बताइन् ।
मित्रतापूर्ण भ्रमण हो
चीनले जारी चिनियाँ कम्युनिष्ट पार्टी, अन्तर्राष्ट्रिय विभागको प्रतिनिधि मण्डलको नेपाल भ्रमण आपसी राजनीतिक विश्वास बढाउन तथा आपसी मित्रतालाई मजबुत बनाउनका लागि केन्द्रित भएको तर कुनै हस्तक्षेपका लागि नभएको स्पष्ट पारेको छ । नेपालको सबैभन्दा ठूलो सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीमा उत्पन्न संघर्षका कारण संसद विघटन भई राजनीतिक संकट उत्पन्न भएका बेला चीनले आफ्ना पार्टी नेताहरूको काठमाडौं अवतरण मित्रता तथा सहकार्यका विषयमा विचार विमर्शका लागि भएको बताएको हो । सोमबार बेइजिङमा भएको परराष्ट्र मन्त्रालयको पत्रकार सम्मेलनमा परराष्ट्र प्रवक्ता चाओ ली च्येनले भने, ‘चिनियाँ कम्युनिष्ट पार्टीले अर्काको स्वतन्त्रता, समानता, आपसी सम्मान र कसैको आन्तरिक मामिलामा हस्तक्षेपको सिद्धान्त अपनाउँदैन ।’
परराष्ट्र प्रवक्ता चाओले राजनीतिक विश्वास तथा व्यवहारिक सहयोग प्रवद्र्धन गर्नु र दुई देशबीचको परम्परागत मित्रतालाई मजबुत बनाउनु नै भ्रमणको लक्ष्य रहेको बताए । उनले भने, ‘आपसी साझा चासोका सवालहरू महामारी रोकथाम तथा नियन्त्रणका, सुशासन र सहकार्य तथा विकास जस्ता विषयमा विचार आदानप्रदान गर्नका लागि चिनियाँ टोलीले नेपालको भ्रमण गरेको हो ।’ चीन र नेपाल असल छिमेकी, सच्चा साथी र राम्रा साझेदार भएको बताउँदै उनले चिनियाँ कम्युनिष्ट पार्टीले नेपालका मुख्य पार्टीहरूसँग घनिष्टता कायम राखेर मैत्रीपूर्ण आदानप्रदान गरिरहेको बताए । उनले यो सम्बन्धले आपसी राजनीतिक विश्वास बढाउन, सरकार सरकारबीचको मित्रतालाई गहन पार्न, सरकारहरूबीच व्यावहारिक सहयोग प्रवद्र्धन गर्न र दुई देशबीचको परम्परागत मित्रतालाई मजबुत बनाउन सघाएको पनि सुनाए ।
प्रवक्ता चाओले चिनियाँ कम्युनिस्ट पार्टीले सबै प्रमुख राजनीतिक दलहरूसँग समान र मैत्रीपूर्ण सम्बन्ध कायम राखेको बताउँदै नेपाली राजनीतिक दलहरूसँग नेपाल चीन रणनीतिक तथा सहकार्यमूलक साझेदारीमा केन्द्रित विकास निर्माणका सवालमा दुवै देशका जनताको फाइदाका लागि काम गर्न इच्छुक रहेको बताए ।