काठमाडौँ – सवारी चालक अनुमतिपत्र (लाइन्सेन्स) को अनलाइन फाराम खुलेको छ। कोरोना भाइरस महामारीका कारण १० महिना देखि बन्द रहेको सवारी चालक अनुमतिपत्र (लाइन्सेन्स) को अनलाइन फाराम मंगलबार देखि खुलेको हो।
लाइसेन्सको अनलाइन फाराम सातवटै प्रदेशमा खुलेको यातायात व्यवस्था विभागले जनाएको छ। तत्कालको लागि दैनिक कोटा तोकेर आवेदन लिन थालिएको विभागका निर्देशक डाक्टर लोकनाथ भुसालले बताए।
उनका अनुसार अहिलेको लागि दैनिक २ सय जनाले अनलाइन आवेदन दिन पाउनेछन्। एक सय, स्कुटर र चारपाङ्ग्रे गाडीमा ५०–५० गरी कुल दुई सय जनाले आवेदन दिन सक्नेछन्।
हाल कोरोना संक्रमण कायमै रहेका कारण थोरै आवेदन लिइएको भुसालको भनाई छ। स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पूरा गरेर लिखित तथा ट्रायल परीक्षा लिने व्यवस्था गरिएको उनले बताए।
अनलाइन साइटमा समस्या
महिनौं देखि बन्द रहेको सवारी चालक अनुमतिपत्र (लाइन्सेन्स) को अनलाइन फाराम खुलेपनि अनलाइन साइटमा समस्या देखिएको छ। अनलाइन फारम भर्ने साइट खुल्न सकिरहेको छैन।
लामो समयपछि फाराम खुलेकाले आवेदन दिनेको चाप उच्च भएपछि समस्या आएको निर्देशक भुसालको भनाई छ। साइटमा देखिएको समस्या समाधानको प्रयास भइरहेको निर्देशक भुसाल बताउँछन्।