काठमाडौँ : करिब साढे तीन हजार वर्ष पुरानो एक सभ्यताको क्यालेन्डर देखाएर विश्वभरी आतंकको माहोल बनाईएको थियो। प्रोगेसिव मानिने हलिउडले पनि २०१२ को नामबाट फिल्म बनाएर यस डरलाई अझ बढावा दिन कुनै कसर छोडेन। येशुको जन्म देखि करिब १५०० वर्ष अघि मेक्सिको र अमेरिकामा विकसित भएको माया सभ्यताको क्यालेन्डरमा २१ डिसेम्बर २०१२ पछि कुनै तारिख थिएन। यसैको आधार बनाएर चारैतर्फ ढिन्ढोरा पिटिएको थियो कि २१ डिसेम्बर २०१२ को दिन प्रलय आउनेछ। आकाशबाट उल्का वर्षा हुनेछ। ताराहरु टुटेर धर्तीमा झर्नेछ। जमिनमुनिबाट पानी निस्केर चारैतिर जलमग्न हुनेछ। कुल मिलाएर यस्तो महाप्रलय आउनेछ कि धर्तीमा केही पनि बाँकी रहने छैन।
पूरा दुनियाँ भरी २१ डिसेम्बर २०१२ को भय थियो। अमेरिका देखि चीनसम्म हरेक देशमा यही चर्चा थियो कि के साँच्चै दुनियाँ समाप्त हुनेछ ? के २१ डिसेम्बरमा साँच्चै महाप्रलय आउनेछ ? तर न महाप्रलय आयो, न कुनै माया क्यालेन्डरको भविष्यवाणी सत्य साबित भयो। वास्तवमा माया सभ्यताका विद्वानहरुलाई अन्तरिक्ष विज्ञानको पनि ज्ञान त थियो तर यो पूरा सभ्यता ८०० एडीको आसपासमा अन्त्य भयो। यस सभ्यताको क्यालेन्डर अनुसार २०१२ मा धर्तीमा प्रलय आउने भविष्यवाणी गरिएको थियो।
के थियो वास्तविकता ?
२१ डिसेम्बर २०१२ मानव सभ्यता अन्त्य हुने तारिख थिएन। यो माया क्यालेन्डरको एक चक्र या युग अन्त्य हुने तारिख थियो। जसरी ग्रेगोरियन क्यालेन्डरमा ३१ डिसेम्बर वर्षको अन्तिम तारिख हुन्छ त्यसरी नै २१ डिसेम्बर २०१२ मा माया क्यालेन्डरको एक चक्र या युग या काल अन्त्य हुने वाला थियो। गोलो पत्थरमा कुँदिएको क्यालेन्डरमा अगाडीको तारिखको लागि कुनै ठाउँ नै बाँकी थिएन। यसकारण अगाडीको कुनै तारिख उल्लेख थिएन। २१ डिसेम्बर २०१२ को १३ औँ काल अन्त्य भयो र अर्को दिन १४ औँ काल सुरु भयो। यस तर्फ कसैले पनि ध्यान दिएनन् र धर्तीमा महाप्रलयको भविष्यवाणी गरिदिए।
अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले प्रलयको तारिख भन्दा करिब एक महिनाअघि घोषणा गरेको थियो कि अरबौं वर्षदेखि सहीसलामत दुनियाँ अगाडी पनि सलामत नै रहनेछ। यसको बाबजूद पूरा दुनियाँमा २१ डिसेम्बर २०१२ तारिखले मानिसको मनमा डरले डेरा जमाईरह्यो। वर्षभरी मानिसहरु भयभीत भई बाँच्न बाध्य भए। समय बित्दै जाँदा माया सभ्यताको क्यालेन्डरको आधारमा गरिएको दाबी अन्त्य भयो। तर फेरी पछिल्लो समय नयाँ दाबी भएको थियो । कोरोना भाइरसको महासंकटबीच २१ जुन २०२० मा दुनियाँ अन्त्य हुने दाबी गरियो। वैज्ञानिक पाओलो तगलोगुइनले पनि यस दाबीको समर्थनमा ट्वीट गरे। यद्यपि पछि उनले त्यो ट्वीट डिलिट गरे।
२०२० को जुनको त्यो तारिख पनि बितिसकेको छ तर दुनियाँ अहिले पनि कायम नै छ। र अहिले २०२१ लाई लिएर फेरी पनि एकपटक अफवाह फैलिएको छ जसले बजार तातेको छ। माया सभ्यताको क्यालेन्डर बनाउने वालालाई प्रलयको तारिख थाहा थियो या थिएन, यसबारे ठोस रुपमा कसैलाई पनि थाहा छैन। तर तिनको क्यालेन्डरमा २१ डिसेम्बर २०१२ पछि कुनै तारिख थिएन। यसकारण यसलाई नै प्रलयको तारिख मानियो। प्रलयको डरले कैयौं वर्षसम्म मानिसहरु भयपूर्ण वातावरणमा बाँचे। तर जब प्रलयको तारिख आयो तब दाबी गलत साबित भयो। फेरी पनि २०२१ लाई लिएर यस्तै माहोल बनाउन खोजिएको छ।