काठमाडौं । केही वर्ष स्थिर रहेको राजनीति फेरी चलमलाउन थालेपछि विश्वलाई आतंकित बनाएको कोरोना भाइरस फैलिन सक्ने खतरा फेरी बढेर गएको छ । युरोपका कतिपय देशमा तेस्रो लहर आएपनि नेपालमा भने पहिलो लहरको ओरालो लाग्दो संख्यामा छ । तर, फेरी राजनीतिक अस्थिरताका कारण सडकमा मानिसहरु स्वास्थ्य सुरक्षाका उपाय नअपनाई आउँदा कोरोना भयावह अवस्थामा पुग्ने जनस्वास्थ्यविद्हरुले चेतावनी दिएका छन् । सरकारले प्रतिनिधिसभा विघठन गरेपछि सडकमा विभिन्न दलका नेता कार्यकर्ता उत्रिएका छन् । तर अहिलेको समयमा राजनीतिको साथसाथै जनस्वास्थ्यको दृष्टिकोणलाई पनि उत्तिकै ध्यान दिन जनस्वास्थ्यविद्हरूले सुझाव दिएका छन् । उनिहरुले सकेसम्म भिडभाडमा नजान र जानै परे मास्क र भौतिक दुरी कायम राख्न आग्रह गरेका छन् । बेलायतमा देखिएको नयाँ भाइरस भारत र पाकिस्तानमा पनि देखिएको पुष्टि भईसकेको छ । त्यस्तो अवस्थामा नेपालीले झनै सजग रहनु पर्ने उनिहरुको तर्क छ । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।
कोरोनाभाइरसबाट जोगिने मुख्य उपाय भनेको मास्कको प्रयोग र भौतिक दूरी रहेको छ । तर आन्दोलन गर्दा भौतिक दूरी कायम नहुने चिन्ता जनस्वास्थ्यविद्हरूको छ । स्वास्थ्य मन्त्रालयका पूर्वनिमित्त सचिव सुशील प्याकुरेलले महामारीविरुद्ध आवश्यक राजनीतिक प्रतिबद्धताको कमी हुनु मुख्य चिन्ताको विषय बनेको बताए । ‘मुख्य कुरा कोरोनालाई रोक्ने राजनीतिक प्रतिबद्धता नै भएन । पहिले–पहिले पो मिडियाहरू थिएनन् अनि जे विरोध गर्न पनि सडकमै भेला हुनुपथ्र्यो’, उनले भने ।
जनस्वास्थ्यका जानकार समिरमणि दीक्षितले आन्दोलन भनिसकेपछि त्यसमा मानिसहरूको भिडभाड हुने र भौतिक दूरी नहुने खतरा औँल्याउँछन् । ‘मैले कुनै राजनीतिक आन्दोलनमा मात्र होइन जात्रा तथा अरू भिडभाड पनि नगरौँ भन्दै आएको छु । भिडमा एक त भौतिक दूरी कायम हुनसक्दैन अर्को चिच्याएर नाराबाजी गर्दा मास्क नै लगाएपनि थुकको छिटा एकअर्कामा सर्ने सम्भावना धेरै हुन्छ’, दीक्षितले भने ।
पछिल्लो समयपनि काठमाडौं उपत्यकामा कोरोना संक्रमित घटेका छैनन् । मंगलबार मात्रै थप ७०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा ४३८ पुरुष र २७० महिला रहेका छन् । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या दुई लाख ५९ हजार ५४८ पुगेको छ । थप ६ हजार १३५ जनाको पिसिआर परिक्षण गरिएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म दुई लाख ५१ हजार ३१२ जना कोरोना भाइरसबाट मुक्त भइ घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर ७३१ संक्रमित निको भएर घर फर्किएका छन् । हाल देशभर ६ हजार ३९६ सक्रिय संक्रमित छन् । काठमाडौँ उत्यकामा मंगलबार मात्रै थप ३९८ कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ । थपिएका संक्रमितमा १५६ महिला तथा १४२ पुरुष रहेका छन् । योसँगै उपत्यकामा संक्रमितको संख्या एक लाख २० हजार ७७९ पुगेको छ । थपिएका संक्रमितमध्ये काठमाडौँका ३२४, ललितपुरका ५२ तथा भक्तपुरका २२ रहेका छन् । उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो ।
हालसम्म काठमाडौँमा ९६ हजार ७८५, ललितपुरमा १५ हजार १६९ तथा भक्तपुरका आठ हजार ८२५ संक्रमित भएका छन् । तिमध्ये काठमाडौँमा ९३ हजार ३७४, ललितपुरमा १४ हजार ६५९ तथा भक्तपुरमा आठ हजार ५६० संक्रमित निको भएर घर फर्किएको मन्त्रालयले जनाएको छ । कोरोना भाइरसको संक्रमणबाट थप आठ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मर्नेको संख्या एक हजार ८४० पुगेको छ । हालसम्म काठमाडौँमा ४६९, ललितपुरमा १४६ तथा भक्तपुरमा १०० जनाको कोरोनाबाट ज्यान गएको छ ।