बार्सिलोनाको अध्यक्ष पदका लागि उम्मेदवार रहेका जोर्डी फाव्रेले पूर्व बार्सिलोना स्टार नेइमार अब बार्सिलोना नआएपनि केहि फरक नपर्ने बताएका छन्। नेइमार २०१७ मा बार्सिलोनाबाट रेकर्ड २२२ मिलियन डलरमा पीएसजी गएका हुन्।
बर्टमेउले बार्साको अध्यक्ष पदबाट राजीनामा दिएसँगै क्लबका अध्यक्ष पदका उम्मेदवारहरूले नेइमारको नाम आ-आफ्ना परियोजनामा प्रयोग गरिरहेका छन्। यस्तोमा, जोर्डी फाव्रेले हालसालै आफूले नेइमारलाई बार्सिलोना फर्काउन जोड दिने बताएका छन्। स्पेनिस पत्रिका मार्कासँगको अन्तर्वार्तामा बोल्दै फाव्रेले नेइमारलाई फर्काउने आफ्नो मुख्य योजना भने नरहेको स्पष्ट पारे।
जबसम्म क्लबको अध्यक्ष को बन्छ भनेर थाहा हुँदैन तबसम्म ठूला ठूला ट्रान्सफरको कुरा गर्नुको कुनै अर्थ नहुने पनि उनको भनाइ छ। उनले भने,”अहिले नै हालाण्ड, नेइमार, एम्बापेको कुरा गर्नुको के अर्थ राख्छ र ? यो सत्य हो कि मैले धेरै व्यक्तिहरूसँग कुरा गरेको छु किनकि हामी तयार रहनु पर्छ, तर म विशेष रूपमा कसैलाई संकेत गर्न चाहन्न।”
“मलाई लाग्छ कि विश्वका सर्वश्रेष्ठ खेलाडीहरू सँधै बार्सिलोनामा हुनु पर्छ र नेइमार पनि ती मध्येका हुन्। तर यदि उनी बार्सिलोना फर्केनन् भने पनि केहि फरक पर्दैन।” बार्सिलोनाको अध्यक्ष पदको लागि आउँदो जनावरी २४ मा मतदान हुँदैछ।